जडीबुटी प्रशोधन कारखाना स्थापना गर्न सुदूरपश्चिम प्रदेश सरकार असफल भएको छ । चालु आर्थिक वर्षका लागि कञ्चनपुरमा जडीबुटी कारखाना स्थापनाका लागि भन्दै १२ करोड विनियोजन गरिएकोमा प्रदेश सरकारले कुनै काम गर्न नसकेपछि बजेट फ्रिज भएको हो ।
जडीबुटी प्रशोधन कारखाना स्थापनाका लागि यसअघि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल सरकारबाट स्थापित र सञ्चालित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडबिच सहमति भएको थियो ।
उच्च सम्भावना भएको जडीबुटीको उत्पादन, सङ्कलन र प्रशोधन तथा विकासका लागि प्रदेश जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी स्थापनाका लागि सम्झौता मात्र भयो, काम केही पनि हुन सकेन मन्त्रालयका एक अधिकारीले भने ।
सुदूरपश्चिम जडीबुटीको भण्डार भएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले कञ्चनपुरमा जडीबुटी प्रशोधन कारखाना स्थापनाको प्रक्रिया कोरोना भाइरसको दोस्रो लहरका कारण प्रभावित बन्न पुगेको बताए ।
प्रदेशभित्र वनमा आधारित उद्योगहरूबाट २९ लाख ७७ हजार क्यु फिट काठ उत्पादन भएको प्रदेश सरकारले दाबी गरेको छ । प्रदेशका ९ ओटै जिल्लामा गरी वनमा आधारित उद्योग लगायत गरी झन्डै ११ हजार उद्योग दर्ता भएको पाइएको छ ।
प्रदेश सरकार गठनयता मात्र ९ हजार ८५४ नयाँ उद्यमी सृजना भएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ । प्रदेश सरकारले यो अवधिमा ६९१ उद्यमीलाई विभिन्न प्रविधि हस्तान्तरण गरेको दाबी गरेको छ ।
२ हजार ३६३ लघु उद्योग, २०८ घरेलु उद्योग, ८ हजार ३५६ साना उद्योग र एउटा मझौला उद्योग गरी १० हजार ९२८ उद्योग दर्ता भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरतबहादुर श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयका अनुसार ५ हजार ७१८ उद्योगको नवीकरण, ९ हजार ८५४ जना नयाँ उद्यमी सृजना, एक हजार ९०४ जना पुराना उद्यमीलाई पुनर्ताजगीकरण र ६९१ उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको उल्लेख छ ।
वनमा आधारित उद्योगबाट २९ लाख ७७ हजार ८० क्यु फिट काठ र ३ हजार ४४७ चट्टा दाउरा उत्पादन भएको मन्त्रालयको दाबी छ । विभिन्न प्रजातिका जडीबुटी उत्पादनबाट २६ लाख २० हजार ५७६ किलो निकासी भएको तथ्याङ्क छ । त्यस्तै जडीबुटीका ९ लाख २६ हजार ५०० बिरुवा उत्पादन गरिएको उल्लेख छ ।
विभिन्न प्रजातिका ४० लाख ३१ हजार ५५४ बिरुवा उत्पादन, १५ हजार ९३८ हेक्टर वन क्षेत्रमा १४४ ओटा सामुदायिक समूह गठन गरी वन हस्तान्तरण, ७५२ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २०२ हेक्टर अतिक्रमित वन क्षेत्रलाई खाली गराई वन क्षेत्र कायम, वन अपराध सम्बन्धी २७१ जनामाथि वन मुद्दा दायर र जिल्ला वन पैदावार समितिमार्फत ७९ हजार ७३७ क्यु फिट काठ सङ्कलन गरी एक हजार २८१ घरधुरीलाई घर निर्माण तथा मर्मतका लागि वितरण गरिएको छ । साथै वन पैदावार विक्रीबाट ३४ करोड १८ लाख राजस्व सङ्कलन भएको तथ्याङ्क छ ।