डडेल्धुराको जंगलमा महिला मृत फेला परेको घटनाका विषयमा अनुसन्धानका लागि धनगढीबाट छुट्टाछुट्टै दुईवटा प्रहरी टोली परिचालन गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी अनुसन्धान समूह (आरआईटी)सहित दुई प्रहरी टोली परिचालन गरेको जनाएको छ ।शनिबार परशुराम नगरपालिका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी जंगलमा मृत भेटिएकी थिइन् ।
घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयबाट प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए ।त्यस्तै, सोही घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली पनि खटाइएको उनले बताए ।
उनका अनुसार आरआईटीका नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको छ ।दुवै टोली आइतबार बिहानै डडेल्धुरातर्फ लागेका हुन् ।यही असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको शनिबार स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो ।
परीक्षणका लागि महिलाको शव अहिले जोगबुढा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।पोस्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ने उनले बताए ।
उनले भने, ‘नाकको डाँडी र मुखमा चोट देखिन्छ, अहिले नै हत्या वा आत्महत्या भन्न सकिँदैन । पोस्टमार्टम रिपोर्टपछि मात्रै बाँकी कुरा खुल्छ । हामी अहिले अनुसन्धानमै छौँ । मृतक धामीको शव मूलबाटोदेखि ६० देखि ७० मिटरको दूरीमा फेला परेको हो । त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिन बक्स र केहीमाथि चप्पल फेला परेको थियो ।
स्थानीयकाअनुसार उनको शरीरमा निलडाम छन्, भने उनले प्रयोग गर्ने मोबाइल भेटिएको छैन । प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्रै हत्या वा आत्महत्याबारे थाहा हुने बताएको छ ।