मोरङको सुन्दरहरैँचा नगरपालिकाका किसान खेम श्रेष्ठलाई कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाले छेकेको छैन । विगत ६ वर्षयता ड्रागन फ्रुट्सको खेती गरेका सुन्दरहरैँचा–११ खदमका किसान श्रेष्ठले आफूले गरेको उत्पादन बिक्री गर्न समस्या छैन ।
जस्तै निषेधाज्ञामा पनि उनले पाँच कठ्ठामा उत्पादित ड्रागन फ्रुट्स बेचिरहेका छन् र त्यसबाट लोभलाग्दा आयआर्जन गरिरहेका छन् । एक सिजन कम्तिमा तीन लाखसम्म नाफा निकाल्नेगरेका श्रेष्ठले उत्पादन गरेको ड्रागन फ्रुट्स किन्न विराटचोक, इटहरी तथा विराटनगरबाट गाह्रक घरमै पुग्छन् ।
ड्रागन फ्रुट्स खेतीमा किसान खेम श्रेष्ठजेठको अन्त्यतिरबाट उनले ड्रागन फुट्च बेच्न थालेका छन् । उनी ड्रागन फ्रुट्स लिएर बेच्न निस्किँदैनन् । बरू गाउँघरतिर तथा विराटचोकलगायत अन्य स्थानबाट ग्राहक तथा व्यापारी घरमै आइपुग्छन् । प्रतिकिलो ६ सय रुपैयाँले उनले घरबाटै ड्रागन फ्रुट्स बेचिरहेका छन् ।
‘गाउँघरबाटै बिक्री भएर सकिन्छ’, उनले भने, ‘उत्पादन सुरु भएयता नै बेच्न कतै जानु परेको छैन । न निषेधाज्ञाको असर छ न त नेपाल बन्दको नै । यहाँ आउने ग्राहकलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेरै बेच्छु ।’
श्रेष्ठले हाल आफ्नो पाँच कठ्ठा खेतमा २०० वटा ड्रागनका बोट रोपेका छन् । २०७३ सालमा ५० हजार लगानीमा ड्रागन खेती थालेका उनले त्यसबाट करिब तीन लाखसम्मको बिक्री गर्छन् । ड्रागन फ्रुट्स खेती एक पटक थालेपछि १५ वर्षको समयावधिसम्म अरू मेहनत गर्नु पर्दैन । कहिलेकाहीँ गोडमेल र सिचाइँ गर्नुबाहेक अरू मेहनत गर्नु नपरेकाले बिक्रीवितरणबाट आम्दानी भएको सबै नाफामै गनिने उनी बताउँछन् ।
धैर्यताबाट सफलता
भनिन्छ धैयताको फल मीठो हुन्छ । त्यस्तै भएको उनलाई पनि । परम्परागत बाली धान, गहुँ, मकै उब्जनी भइरहेको खेतमा ड्रागन फ्रुट्स रोपेका उनको दुई वर्षपछि मात्र कमाइ खान पाएका थिए ।
दुई वर्षसम्म खेतकै काममा खट्नुपरे पनि कमाइ खान नपाएका उनले अघिल्लो वर्षदेखि भने लोभलाग्दो कमाइ गरिरहेका छन् । ड्रागन फ्रुट्स रोपेको पहिलो वर्ष र दोस्रो वर्ष त्यति कमाइ नभए पनि तेस्रो वर्षदेखि लगातार १५ वर्षसम्म आम्दानी खान पाइने श्रेष्ठले बताए ।
२०७४ सालमा सुन्दरहरैँचा नगरपालिकाका तत्कालीन कृषि शाखा प्रमुख हृदयराज पोखरेलको सुझावमा खेमले ड्रागन फ्रुट्स खेती गर्ने निर्णय गरेका थिए । परम्परागत बाली उब्जनी भइरहेको पाँच कठ्ठा खेतमा नगरपालिकाकै अढाइ लाख लगानीमा १८० वटा ड्रागन फ्रुट्सको बिरुवा रोपेका थिए ।
बुबा रेणुप्रसाद श्रेष्ठ र खेम भएर पिल्लर गाडे र ९० वटा पिल्लरलाई चाहिने टायर किने । पाँच कठ्ठा जमिनलाई वरिपरिबाट तारजालीले घेरे । सो सबैका लागि खर्च भने सुन्दरहरैँचा नगरपालिकाले गरिदियो । लगानी आफ्नो नलागेपनि दुई वर्षसम्म पाँच कठ्ठाको उब्जनी खान पाएनन् ।
तथापि, पिलर गाडेर बचेको जमीनमा भने खोर्सानी, भिन्डी, सागलगायत उब्जनी गरे र घर खर्च चलाए । २०७५ साल जेठ–असारतिरबाट भने केही आश पलायो । ड्रागनको फूल फुल्यो । असारदेखि फल फल्न थाल्यो । त्यसपछि उनको चिन्ता बिक्री–वितरण गर्न बजारको विषयमा रह्यो ।
दोस्रो सिजन उनले १० हजार जतिको बेचे । फल लाग्न थालेपछि अरू खेती जस्तो मेहनत पनि गर्नुनपर्ने भएपछि उनी बाख्रा पालनतर्फ पनि लागे । सोही वर्षको माघ महिनामा उनले २० वटा बाख्रा पाल्न सुरु गरे । त्यसैबीचमा उनीहरुले हरिमाया कृषि फार्म दर्ता गरे र व्यवसायिकतातर्फ खुलेरै लागे ।
यता, एक पटक लगाएर १५ वर्षसम्म उत्पादन हुने ड्रागन फ्रुट्स यस सिजन भने सोचभन्दा राम्रो भएर फल्यो ।
बिरुवा उत्पादनबाट पनि कमाइ
अहिले खेमले यसको बिरुवासमेत उत्पादन गरिरहेका छन् । प्रतिबिरुवा २०० रुपैयाँमा बिक्री पनि गरिरहेका छन् । त्यसबाहेक उनले थप ७५ वटा पिल्लरमा १५० वटा बिरुवा पनि लगाएका छन् । अघिल्लो वर्षको दसैँ तिहारमा लगाएको ड्रागनको बोटले अब एक वर्षपछि फल दिनेमा उनी आशावादी छन् ।
उत्पादनभन्दा माग बढी
सुरुमा त श्रेष्ठलाई ड्रागन फ्रुट्स उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो । तर, घरमै आएर ग्राहकले किनेको तथा सबैलाई यो फल चाख्न भ्याइनभ्याई भएको देख्दा भने उनी खुशी भए । अझ, बजारको मागअनुसार आफूले उत्पादन गर्न नसकेको महसुस पनि उनले गरे ।
उनका अनुसार फूल फुलेको महिना दिनमा फल पाकेर खानयोग्य हुन्छ । फेरि यो फल टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोेजसम्म मुख्य रूपमा फल दिने ड्रागन फुट्स वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्नेक्रम एक साथ चलिरहन्छ ।