म : हेलो के छ तेरो खबर ?
उ : Oh my God …यतिका महिना पछि आज कहाँबाट तपाईँका औँलाले मेरो याद गरे नि ?
म : भन्न पाए भन्दैमा त्यति धेरै नि नभन न । बौलाउँदा बौलाउँदै बिर्सिएको तेरो नम्बर १० पटमा मात्रै ठाउँमा पुग्यो । सुन आज बाटोमा हिँड्दै थिए गाइनेले तेरै नामको गीत गाइरहेको थियो सारङ्गी रेटी रेटी ….कस्तो कलेजी नै रेटिए जस्तै भयो l
उ : किन सम्झनु हुन्थ्यो त ! गफ देहाते..कस्तो फिल्मी भएछ…अनि ?
म : एक छिन बसेर सुने, धीतै नमरे जस्तो भयो फेरी गाउन लाई दुःख दिए …थाहा छ आज चैँ तेरो लागि मैले खर्च गर्नु पर्यो ! आज चैँ अलिक धेरै नै खर्च गरे लोभ कहीँ कतै लागेन, मन पनि भरे सेवा पनि गरे ।
उ : उस् पत्याइन है मैले त, जीउमा रु २० रुपैयाँ पनि नबोकी हिँड्ने मान्छेले समाज सेवा गर्यो रे अचम्म …!
म : हो के । नहेप न हौ आजकाल ठुला ठुला जङ्गली जनावर सबै मेरै खल्तीमा बसाई सर्या छन् । गरिबको कोखमा पो जन्म भयो त यसको माने म गरिबै भर मर्नु पर्थ्यो ? कति होच्याएको है …!
उ : सरी मैले होच्याएको हैन, यस्तो जान्ने बुझ्ने मान्छेलाई होच्याउन त कहाँ मेरो हैसियत पुग्ला र । ठट्टा गर्या मात्रै हो । ए साँच्चि किन कुरा मोड्या नि …मेरो याद कसरी आयो रे ?
म : उम गाइने दाइ रेटी रेटी मानो जुटाउँदै थियो म चैँ मन पखालिला रहिछु.. अब फेरी कता कता हात राखेर कसम खानु चैँ नभन है यति हो मैले झुट बोलिरहेको छैन
उ : कसम…सरी सरी…हो तपाई रुनु हुन्छ मलाई थाहा छ । भित्र भित्रै कति रुनुहुन्थ्यो त्यो पनि मलाई थाहा छ । दुई पटक हो क्यारे धक खोलेर रूनुभाको थ्यो म सँगै हुँदा । कारण चैँ म अहिले भन्दिन ल हजुरलाई पनि त थाहा छ नि ! अनि त्यस पछि ?
म : बस मुटु सँगसँगै शक्ति पनि भरिएर आयो, नम्बर पुरानै रहेछ भने एक पटक कल गर्छु जे होला होला परेको व्यहोर्छु भन्ने लाग्यो, हत्तपत्त औँला क्रस गरे अनि डायल गरे ..डर यति लागेको थियो कि कुरै नगर तर डरलाई इच्छाले जित्यो । रिंगटोन पुरानै सुने “डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ “भन्ने , अब चैँ तैँले नै फोन उठाउछेस भन्नेमा म लगभग ढुक्क भए । यी हेर त म सही भए…आज ५४१ दिन ११ घण्टा २५ मिनेट पछि कुरा गर्दै छु ।
उ : ………
म : ओए के भयो किन नबोल्या ?
उ : हैन………I am sorry
म : Sorry भन्नु पर्दैन लाटी । सबै भाग्यको खेल हो । हेर त मैले त चित्त बुझाएको छु
उ : हजुर त बुझाइहाल्नु हुन्छ नि…हुन त गल्ती मेरो मात्रै छैन, मेरो भागको दोष म लिन्छु हजुरको चैँ आफै लिनुहोस् । सम्झिदा त चित्त पनि दुख्छ नि, तपाईँमा आँट र ममा धैर्यता नभएर यो सब भएको हो । अझ दोष चैँ म हजुरलाई नै दिन्छु है जे भए नि छोरो मान्छे हो हिम्मत गर्या भा आज हामी दुवैले जित्थ्यौ हाम्रो प्रेमले जित्थ्यो । सधैँ तँ बुढी भैसकिस भन्नु हुन्थ्यो बुढी बनाउने तिर चैँ ध्यान कम थियो । जिन्दगीमा खुब मस्ती गर्ने हो भन्नु हुन्थ्यो त मस्ती भइरहेको होला नि म नहुँदा त ?
म : जे जे भए पनि निर्णय गर्ने बेलामा , पर्खी म वातावरण मिलाउँछु त भनेकै थिए नि, म मा अलिकति पनि विश्वास थिएन तँलाई मलाई थाहा थियो । म सँग पैसा थिएन त्यो तँलाई थाहा थियो तर क्षमता वन चैँ थिए झनै थाहा थियो । तँ सँग पैसा थियो तर म पैसाको पछि कुद्ने केटी हैन भनी किन हो कुन्नि मलाई दिनको एक पटक चैँ कम्तीमा सुनाउथिस । पैसा केही हैन भने पनि तेरा हरेक क्रियाकलाप पैसा सँग मात्रै जोडिएका हुन्थे । तेरो गोजीमा पैसा नभएको र मेरो गोजीमा पैसा भएको दिन मलाई याद नै छैन । हुन त अलिअलि भएको पैसा नि खर्च हुन्छ भनेर म बोक्दिन थिए । बाठो थिए नि …!तैँले केही भन्छेस् की भन्दा नि पैसा खर्च हुन्छ कि भन्ने पिर मलाई बढी हुन्थ्यो । नहोस् पनि कसरी पैसा पठाउँदा बाउले सधैँ भनेको तँलाई थाहा भएको भए आज मेरो परिवार भन्ने हुने थिएन, तैँले बिहे गरेर मलाई लगी सकेकी हुन्थिस् होला हीही…
उ : बरु थाहा नै भएको भए हुने रहिछ नि ?
म : किन र तँ खुसी छैनस् ?
उ : हजुर खुसी हुनुहुन्छ र ?
म : म त सधैँ विन्दास त हो नि, बिहे गरे सी श्रीमती सँग मात्रै माया पिरती साट्ने मैले आफैसँग प्रमिस गरेको थिए, त्यो श्रीमती तँ पनि हुन सक्थिस् …त्यही भएर कोही सँगको रिलेसनलाई मैले कहिल्यै सिरियस लिएको थिइन । तँ सँग पनि त्यही त भएको हो । तँ सधैँ माया गर्छु भन्थिस्, म मेरो त समय कटानी मात्रै हो है भन्थे हो कि हैन भन् त ? म सधैँ इग्नोर गर्थे मतलबै राख्दिन थिए तर तँ एकोहोरो हत्ते गरिरहन्थिस् । ई भन तँ सँग रिलेसन सीपमा हुँदा म अर्की तरुनी सँग पनि मस्त थिए, गन्ध चैँ तैँले नि थाहा पाईस क्यारे हीही ।
उ : हो मलाई सबै थाहा थियो । तर पनि म हजुरलाई माया गर्न आफूलाई रोक्न सक्दिन थिए, हजुर सज्जन नभए पनि फटाहा मान्छे चाहिँ होइन भन्ने लाग्थ्यो । सबैलाई माया गर्न बाध्य बनाउने गुण थियो हजुरमा जो मलाई असाध्यै मन पर्थ्यो । केटीको मात्रै कुरा होइन अरू सबै मान्छेको पनि भन्या हु । नफुर्किनु है …
म : I dont know but i was not serious about girls. Thats it.
उ : मैले सबै बुझेकी थिए हजुरको भावना । मैले जति हत्ते गर्दा पनि मूल्य नपाएपछि निर्णय लिएकी हु । तर थाहा छ हजुरबाट टाढा हुँदा म जति टुक्रिएकी थिए त्यो भन्दा धरै आनन्द म हजुरलाई हजुरकै अवस्थामा विन्दास देख्दा भएकी थिए। मायामा त्याग हुन्छ रे भन्या सुनेकी थिए, तपाईँलाई त्यागे पनि तपाईत्वलाई त्याग्नु परेन म त्यसमै खुसी छु ।
म : अरे वा Diplomatic ?। मलाई छोडे पछि त खुब पढिस् कि के हो ?
उ : पढ्दिनस…तेरो बुद्धि नै छैन भनेर हेप्नु हुन्थ्यो अनि इखले भए नि पढे नि अलिअलि । हजुर जस्तो सर्वज्ञानी नभए पनि मान्छे सँग बोल्न चैँ सिक्या छु ।
म : ओहो मलाई धन्यवाद दे उसो भा..
उ : दुःख गरेर सिक्ने चैँ म जस चैँ हजुरलाई..लाग्या छ पुच्छर..Sorry. ए ए साँची यतिका बिचमा मलाई कति पटक सम्झनु भयो ? कि सम्झना नि आएन होला नि Time Pass गर्या मान्छेको ..!
म : के भनौँ र खै । आफै देखि अचम्मित छु । जसरी सम्झी तेरो इच्छा तर तैँले छोडेर गए पछि मलाई असाध्यै गाह्रो भयो । सुरुका १५ दिन जति त खासै वास्ता भएन तर त्यस पछि …म अहिले सम्झन पनि चाहन्न । मलाई तेरो बानी परेको रहिछ नानी ..तँ सँग निहुँ खोज्ने, तँलाई जिस्क्याउने हप्काउने, तेरो खाने, तेरो पैसा खर्च गरिदिने, उद्दण्डता देखाउने सबैमा मेरो लत लागेको मैले नै पत्तो पाएको रहेनछु । अझ धेरै त मैले जे भने पनि नरिसाईकन सुँक्क सुँक्क गर्दै “अब सकियो” भनेको आवाजले यति धेरै सतायो कि कुरै नगर.. तँ मेरो लागि रक्सी थिइस्, तेरो मात मलाई नसा नसामा मन्द मन्द लागिसकेको थियो । तेरो रस्वादन नगरी ननिदाउने भैसकेको म आफैले थाहा पाउन सकिन, कस्तो बुद्धु म !जान्ने भन्छेस् नि …म जति लाटो कोही रहेनछ । त्यस पछि के के भयो थाहा छ तँलाई ?
उ :………………
म : ओए के भो ?
उ : सुँक्क सुँक्क सुँक्क………
म : ओए रुन थालेकी फेरी ………..टुड टुड टुड गरी फोन काटिएको आवाज आउँछ ।
म : पुन डायल गर्छु ९८४१……, ९८४१……, ९८४१……, ९८४१……, ९८४१…… Plz Plz Plz फोन उठान न जाँ………….ठ्ठी, फोन भित्तामा बजारिएको आवाज आउँछ । आज फेरी गाली गर्न बाध्य पारिस् हैन …. ठुलो स्वरमा चिच्याउँछु… फेरी भुईँमा उत्तानो परेको फोन(Nokia 1200)जोड जाड गरी नम्बर दबाउँछु ९८४१…..उत्तर आउँछ “माफ गर्नु होला तपाईँ सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ”…
त्यस पछि………………………………………………………………………………!!!!!!