मदन भण्डारी राजमार्गमा तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर सडक कालोपत्रे गरिएको चार वर्ष भयो । पाँच खण्ड गरेर तम्घासदेखि सिमलटारीसम्मको सडक कालोपत्रे गरिएको छ । त्यसका लागि करिब ६४ करोड ३४ लाख खर्च भएको छ ।
तर, कालोपत्रे भएको लामो समयसम्म पनि खोलाहरूमा पुल छैनन् । सवारीसाधन अवरुद्ध हुँदा तम्घास–सिमलटारी–प्युठान सडकखण्ड भएर गन्तव्यमा पुग्ने नागरिकहरूले कैयौँपटक सास्ती खेपिरहेका छन् ।
तम्घासदेखि सिमलटारीसम्म इस्मा गाउँपालिकाका गुर्वा, हुलाके र रोदी तथा मालिका गाउँपालिकाको अर्जे र सिलादी गरेर पाँच ठूला खोला छन् । पानी परे पक्की सडक भएर पनि गन्तव्यमा पुग्न सकिँदैन । खोलामा पुल नहुँदा वर्षौँदेखि नागरिकले समस्या झेलिरहेका छन् ।
उक्त राजमार्गमा गुर्बा खोलामा कल्भट बनेपनि गत बर्ष ठुलो बाढी आउँदा कल्भर्ट थुनियो । त्यस वरपरका घर डुबे । स्थानीयले कल्भर्ट नै भत्काइदिए । तर कल्भर्ट भत्काएको एक बर्षसम्म त न भत्काउनेलाई कारवाही भयो, न त नयाँ कल्भटै नै बन्यो । जसले गर्दा अहिले त्यहाँको आवाज–जावत अहिले बन्द छ ।
बाँकी रहेका रोदी खोला, चौरासी नजिकैको खोला, हुलाके र घमिर खोलामा पुल नै छैनन् । त्यसैले गर्दा राजमार्ग बनेपनि पुल नबन्दा विपतमा राजमार्गको उपयोग हुन सकेको छैन ।