मोरङका भिन्दाभिन्दै स्थानबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित चार जना पक्राउ परेका छन् । प्रहरीले दुई जना ब्राउनसुगर कारोबारीसहित चार जनालाई पक्राउ गरेको हो ।
पथरीशनिश्चरे नगरपालिकाबाट शुक्रबार बिहान र कानेपोखरी गाउँपालिकाबाट बिहीबार राति दुई–दुई जनालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज बिहान साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–१ सिनेमाहल छेउबाट सोही स्थानका ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूलाई ब्राउनसुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेसिनसहित पक्राउ गरेको छ । एसपी श्रेष्ठका अनुसार बिक्री गर्दा तौल लिने मेसिनसमेत साथबाटै फेला परेपछि पक्राउ परेकाहरू लागुऔषध ब्राउन सुगरका कारोबारी रहेको पुष्टि हुन्छ ।
त्यस्तै, बिहीबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका–२ का ३१ वर्षीय हर्क विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई पक्राउ गरेको छ ।
घरबाटै पक्राउ परेका उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर दुई ग्राम चार मिलिग्राम बरामद भएको छ । पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।