मेरी माया झुम्की ।
यो त असार महिना, मानो रोपी मुरी फलाउने समय । दिनहुँ झरी परिरहेछ । अब त वर्षायाम पनि सुरु भयो । यति बेला खेतबारीमा कामको चटारो होला । झुम्की, यो वर्षे झरीले मलाई हरेक पल त्यही पुर्याउँछ– जहाँ तिमी र म हिलाम्मे खोली खेत खनी रहेका हुन्थ्यौँ । भीरु दाइ र बा तारे र माले जोत्दै आली लगाउँथे । खेतका गरा भरी भरिएको पानीमा काफी हिलो खेल्दै हुन्थी ।
सुली दी, भाउजू लगायत सङ्गिनीका साथ असारे गीत गाउँदै छुपुछुपु धान रोप्थिन् । आमाले आलु मटरको तरकारी र तिरकुला (सिलम) को अचारसँग रोटी खुवाउँथिन् ।
मेरी माया, तर आज हामी समयको खेल सँगै सबै को कहाँ पुग्यौ हगी ? काफी लगायत कर्मघर गए । आमा सदाका लागि यो धर्तीबाट बिदा भइन् । म शहर पसे । सुली दी धन कमाउन विदेश गइन् । बा बुढा भए । भीरु दाइ लाहुर गयो । के गर्नु झुम्की, यती बेला मेरो सुन्दर जिन्दगी चोइटिए झैँ आभास भएको छ ।
सुन्दर त्यो हाम्रो घर आँगन त्यो खोली खेत सुनसान अनि उदासीन छ होला । कठै, मेरी माया तिमी पनि त्यही एकसरो फाँटेको म्याक्सी लगाएर तारे र मालेको गोठालो गर्दै तिम्रो प्यारो दिलेको बाटो हेर्दै बसेकी हौली । भीरु दाइ र बाले जोत्ने तारे र माले मात्रै तिम्रा साथी होलान् । माले र तारे पनि अब त बुढा भए होलान् हगी ? तारे र माले जोत्ने मान्छे नपाएर उता खोली खेत बाँझै छ होला । घरको छानो चुहिन्छ होला ।
बाध्यता र विवशताले मलाई यो शहरले अल्झाई रहेको छ । यो वर्षायाममा आएर त्यो चुहिने घरको छानो मर्मत गरौँला सोचेको थिए । हेरन मेरी माया मनले सोचेको नपुग्ने रहेछ । यो साल यस्तै भयो । यो वर्षातमा छानोमा त्रिपाल हालेर ओत लाग्नेसम्म बनाउनु । अर्को साल छानो फेरौँला नि है ।
अँ झुम्की, तिमी र म तोते बोली बोल्दादेखि नै सँगै खेल्ने खोली खेत छेउको वरपीपल पनि एक्लै ठिङ्ग उभिएको छ होला । कठै, आज त्यो वरपीपल पनि एक्लो भयो । उसको शीतल छहारी कसैको काममा छैन । के गर्नु ? मेरो सम्झनाले मात्रै पनि तिम्रो र त्यो प्राण वायु दिने वरपीपलको खोजीको न्यानो भरोसा र आशा पुग्ने वाला छैन ।
जसरी छिनछिनमा मौसम बदलिरहन्छ त्यस गरी हाम्रो नियतिमा पनि ठुलो बदलाव आएको छ । जीवन घामपानी जस्तै भएको छ । कहिले घाम लाग्छ त कहिले पानी पर्छ । यस्तै हो, आजकाल हाम्रो जीवन घामपानीको चक्र जस्तै बनेको छ है ।
झुम्की, कहिलेकाहीँ तिमी मनमा अनेक थरी शंका उपशंका लिएर रिसाइँ दिन्छौँ र पो मेरो मन दुख्छ । हुन त तिमीले शंका लिनु जायज होला । दिले हरेक पटक आउँछु भन्छौँ अन्तमा मेरी झुम्की यस पटक आउन नपाउने भएँ । अर्को पटक अवश्य आउनेछु रानी भनेर चिप्ला कुरा गरी पार लगाउँछौँ । मीठो बोलेर बहाना बनाउँछौँ । दिले कतै तिमी शहरमै त भुलेनौँ भनेर तिमीले शंका गर्नु पनि स्वाभाविकै हो ।
तर मेरी माया यो मेरो बहाना होइन, बाध्यता हो । हाम्रो गरिवी हो । तिमीलाई थाहै छ म यो शहरमा साझबिहानको छाक टार्न र हाम्रो घरपरिवारलाई एकसरो लुगाफाटोको जोहो गर्न रातदिन, घामपानी नभनीकनै खटिरहेको छु ।
मेरी माया, मलाई थाहा छ समाजमा हाम्रो माया प्रेम बारे अनकन हल्ला चल्छन् । उनीहरूको नजरमा हाम्रो माया प्रेम आँखाको कसिंगर जस्तै बनेको छ ।
म हरेक दिन, हरेक पल तिमीलाई नै सम्झिरहेको हुन्छु । हरेक दिन राति कामबाट थकित फर्केर आउँछु । बिछौनामा पल्टिन्छु अनि तिम्रो तस्बिर सँगै एकोहोरो रूपमा सम्वाद गर्छु अनि सारा दुख कष्ट भुलेर मन हलुका बनाउने गर्छु । सायद तिमी पनि है ।
झुम्की तिमीले ढुक्क हुनु जस्तोसुकै बाधाब्यवधान आए पनि मलाई तिमीलाई सम्झिरहन, माया गरिरहन कसैले छेकबार लाउने छैन । यो मेरो दृढ प्रतिबद्धता हो रानी ।
मलाई विश्वास छ झुम्की तिमी पनि हरेक पल दिलेको यादविना रहन सक्दिनौ । दुनियाँको नजरमा कसिंगर बनेको हाम्रो माया प्रेम भौगोलिक रूपमा हामी जति टाढा भए पनि सधैँ सगरमाथा झैँ उँचो र अँटल छ । अझै रहने पनि छ । यो कुनै सपना होइन, वास्तविकता हो मेरी माया ।
हवस् त म फर्किएर गाउँ नआउन्जेल आफ्नो आवाज र पत्रले यसरी नै हाम्रो मन र भौगोलिक दूरी मेटाउने नै छौँ । बाँकी अर्को पत्रमा शुभ पल मेरी हजुर ।
उही दिले
सुदूरपश्चिम प्रदेश
धनगढी, कैलाली ।