मङ्गलबार इमेज टेलिभिजनमा कार्यरत पत्रकार रुपा सुनारले एउटा भिडिओ पोष्ट गरिन् । जहाँ उनले दलित भएकै कारणले घरभाडामा नदिएको दु:ख शेयर गरेको थिइन् ।
जस्मा उनले घरबेटीले गरेको जातिय विभेदको बारेमा दुखेसो पोखेको थिइन् । बुधवार केटिएम दैनिकले उनीसँग सम्पर्क गर्दा आफु दलित भएकै कारण राजधानीमा कोठा नपाएको गुनासो गरिन् ।
उनले भनिन् , ‘हामी कोठाको खोजीमा थियौं, साथीले बबरमहलमा आफू बस्ने कोठा नजिकै खाली रहेको बताएपछि कोठा हेर्न प्रधान थर भएको घरबेटीकोमा पुग्यौं । उहाँहरुले राम्रो कुरा गर्नुभयो । ‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न,’ ‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई। एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ। बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन। सबै जना मिलेर बस्नुपर्छ।
धेरै मान्छे नल्याउन र हल्लाखल्ला आफुलाई मन नपर्ने बताएपछि हामी पढ्न र काम गर्न बसेका विद्यार्थी त्यस्तो कार्य गर्दैनौं भनेर भने । सबै कुरा फाइनल भएपछि थर सोध्नुभयो । मैले म कामीको छोरी हुँ भने ।’
‘मेरो थर सुनेर घरबेटी केही बोल्नुभएन । केहीबेर अघिसम्म मिलेर बस्नुपर्ने भनेकी घरबेटी अकमकाएपछि म र मेरो साथीहरू पनि केही बोल्न नसकि फर्कियौं।’ उनले भनिन् ।
त्यसपछि घरबेटीले अनकनाएर ‘तपाईंको नम्बर दिनू न, म तपाईंलाई पछि खबर गर्छु।’ भनेपछि अमिलो मन लिएर रुपा त्यहाँबाट फर्किइन् ।
मिडिया समाजको ऐना हो । यस्ले बिकृति र बिसंगतीलाई उजागर गर्छ । तर अहिले महिला पत्रकारलाई दलित भएकै कारणले कोठा भाडामा नदिएको खबर बाहिरिएको छ । मिडियाले हरेक पटक उठाएको जातिय मुद्दाकै विषयमा दलित महिला पिडित हुन पुगेकी हुन् ।
क्रियाशील दलित पत्रकार संघले दिएन साथ, रुपाले दिइन् राजीनामा
बुधवार बिहान उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखिन् , ‘हिजो म माथि भएको जातीय विभेदको घटना मैले सार्वजनिक गरेपछि विभिन्न माध्यमबाट मलाई साथ, सहयोग दिने सङ्घ—सङ्गठन एवम् न्याय प्रेमी व्यक्तिहरूको भूमिकाबाट यो लडाइँ लड्न मलाई थप आँट मिलेको छ र म कानुनी रूपमा अघि बढ्दै छु । तर म आफै केन्द्रीय सदस्य रहेको क्रियाशील दलित पत्रकार सङ्घ नेपालका पदाधिकारीहरूले भने आवश्यक चासो नदेखाएको व्यवहारले मलाई दुःख लागेको छ ।
यो यति बेला मैले भोगेको घटना त हो तर हाम्रो समाजमा वर्षौँ देखी गढेर बसेको यो विषय व्यक्तिगत भन्दा धेरै समाजकै समस्या हो । निरन्तर बोलिरहनुपर्ने यो विषयमा आफ्नै संस्थाको सदस्य माथि पर्दा समेत आवश्यक पहलकदमी नलिइदिँदा, यो विषय संस्थाको प्राथमिकतामै नपरेको महसुस भएको छ । त्यसो हुँदा सो संस्थामा यावत रहेर खर्चिने समय, सामाजिक न्यायको लागि उपयोग गर्ने गरी अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेर सो संस्थाबाट राजीनामा दिने निर्णय गरेको छु ।’
प्रहरीमा उजुरी दिने तयारी
बुधवार केटिएम दैनिकसँग कुरा गर्दै उनले मंगलबारको घटनविरुद्ध आफू कानुनी बाटोमा जाने उनले बताइन् । ‘हिजो दिउँसोको घटनाविरुद्ध आज प्रहरीमा उजुरी दिने तयारी गरेको छु । म डराउने, विभेद सहने र चुप लाग्नेहरूमा पर्दिनँ,’ उनले भनिन् ।
‘मुलुकी अपराध सहिंता २०७४’ को दफा १६६ मा जातपातको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने स्पष्ट छ । उपदफा २ भनिएको छ, ‘उपदफा १ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस दफामा लेखिएको कसुर गरेका थप ती महिनासम्म कैद सजाय हुनेछ ।’
कानुनमा के छ ?
मुलुकी अपराध सहिंता २०७४’ को दफा १६६ मा जातिपातिको आधारमा छुवाछत वा अन्य भेदभावपर्ण व्यवहार गर्न नहुने स्पष्ट छ ।
यस दफाको उपदफा १ मा लेखिएको छ, कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पत्तिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी, पधेरो प्रयोग गर्न वञ्चित गर्न वा अन्य कुनै निजी वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट वञ्चित गर्न हुँदैन ।
यदि माथि उल्लेखित कसर गर्नेलाई वा गराउने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुनेछ ।