सुनसरीका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् । मङ्गलबार इटहरी अस्पतालमा जिल्लाको इटहरी, बराहक्षेत्र, रामधुनी, दुहवी र इनरुवाका पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट उपलब्ध भएको खोपमध्ये असार १ गते (आज) पहिलो दिन ११७ जनाले खोप लगाएका हुन् ।
पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाका अनुसार असार १ र २ गते खोप लगाउने गरी तयारी गरिएअनुरुप भेरोसिल खोप लगाइएको हो । धरानसहित बाँकी रहेका अन्य पत्रकारहरुले भने भोलि (बुधबार) २ गते इटहरी अस्पतालमा खोप लगाउने तयारी भएको निरौलाले जानकारी दिए ।
‘बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म इटहरी अस्पतालमा खोप लगाइने छ,’ उनले भने, ‘खोप लगाउन बाँकी रहेका अन्य पत्रकारहरुले भोलि खोप लगाउन सक्नेछन् ।’
मङ्गलबार पत्रकारहरुसहित नेपाली सेना, जेष्ठ नागरिक लगायतलाई खोप लगाइएको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले बताए । उनका अनुसार मङ्गलबार पत्रकारसहित तीन सय बढीलाई कोभिड विरुद्धको भेरोसिल खोप लगाइएको थियो ।
संचारकर्मीहरुलाई सूचना विभागको परिचयपत्र, पत्रकार महासंघको सदस्यता परिचयपत्र र सम्बन्धित संचारगृहको परिचयपत्रका आधारमा खोप लगाइएको महासंघ सुनसरी सचिव धुव्र ढकालले जानकारी दिए । यसअघि महासंघ सुनसरीमा नाम टिपोट गराएका जिल्लाका दुई सय ८८ जनाको नाम सिफारिस गरेको थियो ।
तस्विरहरू