सुदूरपश्चिममा ह्विप उल्लंघन गरिएको भन्दै निलम्बनमा परेका नेकपा एमालेका ७ जना प्रदेशसभा सदस्यलाई दलको बैठकमा मात्रै रोक लगाइने भएको छ ।
उनीहरूले प्रदेशसभा बैठकमा भने जान पाउने भएका हुन् । सोमबार साँझ बसेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले ह्वीप उल्लङ्घन गरेको भन्दै ओलीपक्षका ७ सांसदलाई ७ देखि १५ दिन सांसद पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।तर २४ घण्टा नबित्दै संसदीय दल उक्त निर्णय कार्यान्वयन गराउनबाट पछि हटेको हो ।
प्रमुख सचेतक दुर्गाकुमारी विकले प्रदेशसभा सदस्यमाथि गरिएको कारबाहीबारे तत्काल प्रदेशसभा सचिवालयमार्फत सभामुखलाई जानकारी नगराइने बताइन् ।
‘तत्काल उहाँहरुलाई गरिएको कारबाहीबारे सभामुखज्यूलाई जानकारी गराइरहनुपर्ने आवश्यकता देखिएन,’ प्रमुख सचेतक विकले भनिन्, ‘हामीले अहिले संसदीय दलको बैठकमा भाग लिन नपाउने गरेर मात्र निलम्बन गरेका हौँ । प्रदेशसभा सदस्य पद कायमै छ । भविष्यमा संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै गए थप कारवाहीबारे सोच्छौँ ।’एमाले संसदीय दलको सोमबार साँझ दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले ७ जना सदस्यहरूको भूमिका हेरेर ७ दिन, १० दिन र १५ दिनसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
निलम्बनमा पर्नेहरूमा पूर्वमन्त्री पठानसिंह बोहरा, रतन थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरा रहेका छन् । बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अरुलाई ७ दिनका लागि दलको बैठकमा आउन नदिने गरेर निलम्बन गरिएको संसदीय दलले जनाएको छ ।