बाजुरा जिल्लाको पूर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँनजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतीकला ल्वार रहेकी छन् ।
आइबातरदेखि आएको अविरल वर्षासँगै सोमबार बिहान खोलामा आएको बाढीले बगाउँदा महिला बेपत्ता भएकी हुन् । बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानीय धनबहादुर बोहराले बताए ।
बेपत्ता ल्वारको खोजी कार्य भए पनि नभेटाएको स्थानीयले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी विचल्लीमा परेको बोहराको भनाइ छ । बेपत्ता महिलाका श्रीमानले अर्को विवाह गरी भारतमा गएर बसेका छन् । खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।
बाजुराको त्रिबेणी नगरपालिका–५ मा किम्नी खोलाले बगाउँदा सोही वडाका एक जना बालक बेपत्ता भएका छन् । बालकको नाम भने खुलेको छैन ।