हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरको दानपेटीकामा साढे १० लाख भन्दा बढी सङ्कलन भएको छ ।
मुस्ताङको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले सोमबार दान पेटिका खोलेर गणना गर्दा १० लाख ६० हजार ३ सय ५३ रुपैंया सङ्कलन भएको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए ।उनले भने, ‘गत २०७७ वैशाखदेखि जेठ मसान्तको बिहानसम्म उक्त रकम सङ्कलन भएको रहेछ । मन्दिर वरिपरि रहेको ७ वटा दानपेटीकामा भक्तजनले स्वतःस्फूर्त रूपमा बाकसमा खसालेको रकम त्यति भएको हो ।’
दानपेटीकामा म्यानमार क्याट, चिनिया युवान, भुटानी गुल्ट्रम्प, भारतीय रुपैयाँ, युएई दिराम, साउदी रियल, सिंगापुर डलर, अमेरिकी डलर, मलेसियन रिङ्गेट पाइएको थियो । उक्त रकम मध्ये नेपालमा सटही हुने करेन्सीलाई साट्नका लागि काठमाडौँ पठाउन लागिएको र नेपालमा सटही नहुने म्यानमार क्याट, चिनिया युवान, भुटानी गुल्ट्रम्पलाई दानपेटीकामै खसालेर छाडिएको सहायक प्रजिअ अर्यालले जानकारी दिए ।
मुक्तिनाथ मन्दिर भित्र चढाउने पैसा मन्दिरमा बस्ने आनीहरुले लैजाने गरेका छन् । मन्दिरमा आउने भक्तजनहरूले ९० प्रतिशत मन्दिर भित्रै चढाउने र नगण्य मात्रामा रसिद काटेर वा बाहिर दानपेटीकामा खसाल्ने गर्ने स्थानीयको भनाई छ ।
हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।