नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिएका छन् । उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए।
आज निगमले आयोजना गरेको स्वागत एवं छलफल कार्यक्रममा उनले निगम नाफामूलक मात्र नभई सेवामूलक संस्था समेत हो भन्ने अवधारणासहित अगाडि बढ्नुपर्ने भएकाले सोका लागि सरकारका तर्फबाट सहयोग हुने बताएका हुन् ।
उनले कोरोना महामारीमा समेत निगमले आफ्नो जिम्मेवारी सक्षमता साथ पूरा गरेको भन्दै अझ दरिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता रहेको बताएका छन् ।
निगमलाई क्षेत्रीय वायुसेवा कम्पनी बनाउनेतर्फ निगम व्यवस्थापन र कर्मचारी लागि परेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
सन् १९८८ मा हवाई यात्रुको संख्या २ लाख ९५ हजार ५७३ हुँदा नेवानिको बजार हिस्सा करीब ३५ प्रतिशत थियो । सन् २०१८ को नोभेम्बरसम्म ३९ लाख ४५ हजार १४५ यात्रुले हवाई यात्रा गर्दा नेवानिको बजार हिस्सा १०.९३ प्रतिशतमा पुगेको तथ्याङ्क छ । विमान नहुनु, भएकै विमान उडानयोग्य नहुनु र हवाई उड्डयन क्षेत्रमा प्रतिस्पर्धा चुलिनुले सन् २०१४ मा त्यो ५ प्रतिशतमा झरेको थियो ।
सन् २०१५ मा नेवानिले ए–३२० सञ्चालन गर्नुपूर्व काठमाडौं–दिल्लीको एकतर्फी भाडा रु.४० हजारसम्म पुगेको थियो । नेवानिले हप्ताको सातै दिन दिल्ली उडान गर्न थालेपछि काठमाडौं–दिल्ली एकतर्फी भाडा रु.१५–२० हजारमा आइपुगेको थियो । नेवानिले काठमाडौं–धनगढी सातामा पाँचदिन उडान शुरू गरेपछि रु.१० हजार नाघेको एकतर्फी भाडा रु.५–६ हजारमा झरेको थियो ।