मोरङको बेलबारी नगरपालिकाका युवाहरू बोका–बाख्रासहित आन्दोलनमा उत्रिएका छन् । बोयर जातको बाख्रा किन्दा एक करोड एक लाख रुपैयाँ चलखेल भएको दाबीसहित बेलबारीका युवाहरूले सोमबार नगरपालिकाको गेटमै पुगेर आन्दोलन गरेका हुन् ।
अस्ट्रेलियाबाट ल्याएको फुल ब्लड अस्ट्रेलियन बोयर बाख्रा भन्दै नगरपालिकाले किसानलाई बोकापाठी वितरण गर्दा अनियमितता भएको भन्दै बेलबारीका ४० जना युवाहरूको समूहले आज मध्याह्न नगरपालिकाको कार्यालयअगाडि आन्दोलन गरेका हुन् ।
‘हामी बेलबारीका सचेत युवाहरूको समूहले दबाबमूलक कार्यक्रमस्वरूप प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरेका हौँ’, आन्दोलनमा उत्रिएका एक युवा विपीन आचार्यले भने, ‘५–६ जनाको समूहमा सहभागी थियौँ तर अरू मानिसहरू थपिँदै जानुभयो ।’
करोडौँको रकम अनियमितता हुनेगरीका घोटाला काण्डहरू हुँदा पनि बेलबारीका राजनितिक दल र सरोकारवालाहरूले यसबारे चासो नदिँदा भष्टाचार छोपिएर जानसक्ने भएकाले आफूहरू विरोधमा उत्रिएको उनले बताए ।
सचेत युवाहरूले दबाबमूलक कार्यक्रमका रूपमा प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरेका हुन् । ‘हामी विदेशी बोका होइनौँ,’ ‘नेपाली बोका हौँ’, ‘हाम्रो घर नवलपरासी हो’, ‘हामीलाई विदेशी भन्न पाइन्न’, ‘हामी जहाज चढेर आएका होइनौँ’, ‘विदेशी भनेर हाम्रो बेईज्जत नहोस्’ लगायतका दर्जनौँ नाराहरू लेखिएका प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरिएको हो । अबिरल वर्षाबीच पनि उनीहरूले बोकासहित प्रदर्शन गरेका हुन् ।
नगरप्रमुखसहित पाँच जनाविरुद्ध अख्तियारमा निवेदन
युवाहरूको उक्त समूहले यसअघि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरी समेत गरेका छन् । उनीहरूले नगरप्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, बेलबारी १ का उत्तम गिरी, ग्रो अर्गानिक कृषि फर्मका प्रतिनिधि भनिएका श्याम पाण्डे र सुदीप चौधरी तथा बेलबारी नगरपालिकाका अन्य जनप्रतिनिधिको समेत संलग्नतामा एक करोड एक लाख रुपैयाँ बराबरको घोटाला भएको भन्दै छानबिन गरी आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् ।
नगरपालिकाकाले अस्ट्रेलियाबाट ल्याएको भन्दै वितरण गरेको बोयर जातको बाख्रा खरिदमा एक करोड एक लाख रुपैयाँको चलखेल भएको उनीहरूको दाबी छ । जेठ १५ गते नगरपालिकाले अस्ट्रेलियाबाट चार्टर गरी ल्याइएको दाबी गर्दै कृषक समूह तथा ब्यवसायिक फर्महरूलाई बोयर जातका बाख्राका पाठा–पाठी वितरण गरेको थियो ।
बेलबारीका ११ वटै वडामा ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरिएको थियो । नगर प्रमुखसुवेदी स्वयमले एक करोड २५ लाख मूल्य खर्च गरेर ल्याइएको भन्दै किसानहरूलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अस्ट्रेलियाबाट ल्याइएको बताएका थिए ।
तर बाख्रा खरिदको ठेक्का पाएको सङ्खुवासभाको ग्रो अर्गानिक कृषि फर्मले अस्ट्रेलियन भनेर नवलरासीका किसानबाट बाख्रा सङ्कलन गरेर बाख्रा ल्याएको पुष्टि भइसकेको छ । गत सोमबार बसेको कम्पनीका प्रतिनिधि र नगरपालिकाका पदाधिकारीबीचको बैठकले बाख्रा खरिदमा अनियमितता भएको आशङ्का गरेर छानबिन समिति गठन गरेको थियो ।
उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा समित गठन गरिएपनि उपप्रमुख पराजुलीले आफ्नो स्वास्थ्यवस्थाको कारण देखाउँदै समितिमा बस्न नमानेका कारण यसले झन् शङ्का उब्जाएको छ ।
बाख्रा काण्ड सम्वन्धि केटिएम दैनिकमा प्रकाशित भएका समाचारहरु
एक करोड एक लाखको चलखेल भएको भन्दै मेयर सुवेदीविरुद्ध अख्तियारमा उजुरी
बेलबारीमा बोयर बाख्रा खरिदमा करोड रुपैयाँको चलखेल !
नगरपालिकाको चरम अनियमितता : नवलपरासीबाट ल्याइएको बाख्रा अस्ट्रेलियन भन्दै बाँडियो
कोरोना महामारीयता पशु आयातमा रोक लगाइँदा कसरी ल्याइयो अस्ट्रेलियाबाट बाख्रा ?
बेलबारी नगरपालिकाको ‘बाख्रा काण्ड’, अस्ट्रेलियाबाट ल्याइएको भनिएको बाख्रा बागलुङबाट !
बेलबारी नगरपालिकाले बाँड्यो अस्ट्रेलियाबाट ल्याएको बोयर जातको बाख्रा