निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) पर्सा र वीरगञ्ज महानगर कमिटिको बैठकले जेठ महिनाको विद्यालय शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको प्याब्सन पर्सा र वीरगञ्ज महानगर कमिटिको संयुक्त बैठकले पर्सामा जारी निषेधाज्ञाका कारण विद्यालय सञ्चालन नहुँदा जेठ महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा बैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेको छ ।
निषेधाज्ञा लाग्नु पूर्वसम्म विद्यालयहरुमा नियमित पठन-पाठन भएको थियो । बैठकले पूर्णरुपमा बन्द तथा कुनै पनि माध्यमबाट कक्षा सञ्चालन नगरी पठनपाठन नगराएका विद्यालयहरुलाई जेठ महिना भरी शुल्क नलिन निर्देशन समेत गरिसकेको प्याब्सनले जनाएको छ ।
तर दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले विद्यालय लगायात सम्पूर्ण क्षेत्र बन्द गर्यो ।अहिले महामारी नियन्त्रण भएसँगै को’रोना सङ्क्रमणको दरसमेत घट्न थालेपछि वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले असार महिनादेखि विद्यालय खोल्न निर्देशन दिएको छ ।