गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री आएसँगै मुख्य न्यायाधिवक्ताले राजिनामा दिएका छन् ।
गण्डकी प्रदेशका प्रथम मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले आइतबारबाटै लागू हुने गरी प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाएका छन् । उनले २०७४ साल चैत ८ मा सपथ लिएका थिए ।
घिमिरेले मुख्य न्यायाधिवक्ताको पदमा रहेर आफूले गरेको काम सन्तोषजनक भएको बताएका छन् । उनले राजिनामा पत्रमा लेखेका छन् “मैले मुख्य न्यायाधिवक्ताको पदमा रही सेवा गरेको करिव ३ वर्ष ३ महिनाको अवधिमा आफ्नो ज्ञान, बुद्धि, सीप र क्षमताले भ्याए सम्म संघीयताको कार्यान्वयन, प्रदेशको हक अधिकारको रक्षा, प्रदेशमा कानूनहरु निर्माणमा सहजीकरण, स्थानिय तहमा कानून तर्जुमा सहजीकरण समिति समेतमा रही संवैधानिक र कानूनी कर्तव्य पालना गर्न इमान्दार प्रयास गरेकोमा मलाइ सन्तोष लागेको छ । तर मेरो कार्यसम्पादनमा कुनै कमी, कमजोरी र त्रुटी रहन गएको भएमा म समस्त प्रदेशवासी दिदी बहिनीहरुसँग खुला हृदयले क्षमा याचना गर्दछु ।”