सोलुखुम्बुको पत्तालेको मूल सडकमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा लोबेडका चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनका चालक स्याङजाका २४ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
क्रेनले ३३ केभीको विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले केटिएम दैनिकलाई बताए । सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले शुक्रबार बिहान साढे ८ बजे ३३ केभिए प्रसारण लाइनमा छुँदा उनीहरूको मृत्यु भएको हो । उक्त क्रेनमा चार जना युवा सवार थिए ।
चारमध्ये घटनास्थलमै दुई जनाको मुत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक परियारका श्रीमती लीला परियार र गुल्मीका वसन्त पौडेल रहेका छन् । घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ ।
विगत केही वर्षयता निर्माणधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधककोसी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाइटेन्सन लाइनमा छुँदा दुर्घटना भएको हो । करेन्टका कारण गाडीमा आगो लागेको प्रहरीले जनाएको छ ।