पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने एक मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ । हिलिहाङ–१ मा रहेको उक्त हाइड्रोपावरमा काम गर्ने गुल्मी सत्यवती गाउँपालिका–२ का २९ वर्षीय मोहन राहादी मगरको फलामको पाइपले लागेर मृत्यु भएको हो ।
बिहीबार साँझ पाँच बजे बा३क ३८४५ नम्बरको क्रेनले पाइप उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाँटीमा पाइपले लागेको थियो । साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाइपले लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले क्रेन अप्रेटर बारा सखुवाघाट गाउँपालिका–७ का २८ वर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।