कैलाली । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा ४ कलागाडस्थित रेडियो नेपाल नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उक्त दुर्घटनामा जिप चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका ५० वर्षीय हुकुम शाहको मृत्यु भएको हो।
कुखुराका चल्ला बोकेर धनगढीबाट बाजुराका लागि हिँडेको सुप्रप ०१०० च २६१५ नम्बरको जिप शुक्रवार बिहान ५ बजेको समयमा दुर्घटना भएको डोटी प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका शाहको दिपायलको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। जिप सय मिटर तल खसेको छ ।