मोटरसाइकल दुर्घटना पर्दा घाइते भइ अस्पताल ल्याइएका व्यक्तिसँग हतियार र लागुऔषध फेला परेको छ । बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको थियो । सोही अनुसन्धानका क्रममा प्रहरीले हतियारसहित अर्का एक जनालाई पक्राउ गरेको हो ।
बिहीबार अपराह्न ४ः१५ बजे बेलबारी नगरपालिका–१० भाउन्ने जङ्गलस्थित पूर्व–पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ मोटरसाइकल दुर्घटना भएको थियो । सुन्दरहरैँचा नगरपालिका–९ बस्ने चेवनकुमार धमला र सोही स्थानका विशाल भन्ने खेम भट्टराई सवार प्रदेश नं.१–०२–०४१ प ८८८७ नं. को मोटरसाइकलले तीन जना पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट बेलबारी नगरपालिका–११ का १६ वर्षीय प्रितम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका–७ का ६५ वर्षीय दिलकुमार योगीलाई ठक्कर दिँदा चेवन र खेमसहित पाँचै जना घाइते भएका थिए ।
घाइते उनीहरूको उपचारको लागि नोबेल सामुदायिक अस्पताल बेलबारीमा ल्याइएको थियो । घाइतेमध्ये मोटरसाइकलमा सवार चेवन खेमलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखेपछि चेकजाँच गरेको थियो ।
सो क्रममा लागुऔषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३ः८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको थिए । त्यसपछि सुक्ष्म अनुसन्धान थालेको प्रहरीले लागुऔषध सुनवर्षी गाउँपालिका–८ बस्ने ६० वर्षीय अब्बास मियाँबाट खरिद गरी ल्याएको खुलेको थियो ।
मियाँको घर खानतलासी गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोल थान–१ र सो पेस्तोलमा लाग्ने गोली थान–२, नाइट्रोभेट ६०० ट्याब्लेट डाइलेक्स डिसी २ बोतल र चक्कु थान–१ समेत फेला पारेको थियो ।
प्रहरीले हतियार र लागूऔषधसहित पक्राउ परेका चेवन, विशाल र अब्बासलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।