झापामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत इलामकी सेजला कोइरालाको रहस्यमय मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी उनको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।
डिएसपी कार्कीका अनुसार सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्मोडमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनका साथीले तत्कालै उनलाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको डिएसपी कार्कीले जनाए ।
डिएसपी कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ । मृत्युको कारणबारे अनुसन्धान सुरु भइसकेको उनले बताए ।
घटनालगत्तै सेजलाका अभिभावक राति ११ बजे दमक पुगेका थिए । उनीहरूले सेजलाको मृत्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानबिन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।