विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार बलियो टिम अस्ट्रेलियाको सामना गर्दै छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने उक्त खेल राति ९:४५ बजे सुरु हुनेछ ।
यस खेलअघि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेल महत्त्पूर्ण भएको बताएका छन् । खेलको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेल कठिन भए पनि महत्त्वपूर्ण भएको बताएका हुन् ।
यस्तै राष्ट्रिय टोलीका खेल्न बाँकी रहेका युवा खेलाडीहरूले अस्ट्रेलियाविरुद्ध खेल्ने सम्भावना रहेको पनि बताए । ‘पक्कै पनि, यदि सबै कुरा राम्रो भएमा उनीहरूले पनि खेल्ने छन् । मलाई थाहा छ अस्ट्रेलियाविरुद्धको खेल कठिने हुनेछ तर उनीहरू खेल्नु महत्त्पूर्ण छ’, उनले भने ।
‘आशा गरौँ कि अस्ट्रेलियाविरुद्धको खेल राम्रो हुनेछ । हाम्रो खेल्ने शैलीमा सुधार भएको छ र हामीले हाम्रा समर्थकलाई खुसी पार्न सकेका छौँ’, उनले थपे, ‘नयाँ खेल्ने शैलीको अहिले नतिजा आउन थालेको छ । तर छोटो समयमा केही पनि सजिलो हुँदैन । फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौँ ।’
यस्तै, उनले जुलाईमा युरोप र अफ्रिकी देशसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तयारी रहेको पनि खुलाए । ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो । त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौँ र सुधार पनि देखिएको छ ।’
समूह ‘बी’ मा अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा छ । अष्ट्रेलिया अपराजित रहने समूहको एकमात्र टिम हो । नेपाल भने चौथो स्थानमा छ । नेपालसँग ६ अङ्क छ । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ । इराकविरुद्धको खेलपछि कुवेत पुगेको नेपाली राष्ट्रिय टिम आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।