दोस्रो लहरको कोरोना भाइरसले विकराल रूप लिएपछि वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा जारी रहेकै बेला सुदूरपश्चिम प्रदेशभित्र लागुऔषध कारोबार भने दोब्बरले बढेको पाइएको छ । खुला सिमानाका कारण यस प्रकारको कारोबार नियन्त्रण गर्न निकै चुनौती भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २५ वर्षीय सञ्जीव सिंह, धनगढीकै २० वर्षीया मैना साउद र डेरा गरी बस्ने बैतडीकी ३५ वर्षीया लक्ष्मी भट्टलाई पक्राउ गरी उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
ती ३ जना मात्रै होइन सुदूरपश्चिम प्रदेशभित्र निषेधाज्ञाको अवधिमा मात्र लागुऔषध कारोबारमा संलग्न ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४२ मुद्दा दायर भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्रसिंह थापाले केटिएम दैनिकलाई बताए । ‘निषेधाज्ञाको अवधिमा यस्ता कारोबारीको संख्या दोब्बरले बढेको पाइयो’ उनले भने, ‘खुला सिमानाका कारण नियन्त्रणमा कठिन हुने गरेको छ ।’
कैलालीमा मात्र निषेधाज्ञाको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ । ५५ दशमलव १५ ग्राम ब्राउन सुगर र ६ ट्याब्लेट नाइट्रोभेटसहित १२ जना पक्राउ परेका हुन् ।
यस्तै कञ्चनपुरमा पनि निषेधाज्ञाको अवधिमा लागुऔषध कारेवारमा संलग्न ४५ जना जति लाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
एक महिनाको अवधिमा लागुऔषध सम्बन्धी ६ वटा मुद्दा समेत दायर गरिएको छ । लागु औषधको कारोबार निषेधाज्ञामा समेत बढेको पाइएको प्रहरी अधिकारीहरूले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले प्रायः युवा समूह कुलतमा फस्दै गएकाले लागुऔषध कारोबार त्यही अनुसार बढ्दै गएको बताए । ‘आफ्ना छोराछोरीको विषयमा कतिपय अभिभावकले चासो नदिँदा युवा र बालबालिका समेत कुलतमा फस्दै गएको पाइन्छ’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चैत महिनामा एक किलो चरेस, १८७ ट्याब्लेट नाईट्रोभेट, ११२ ट्याब्लेट स्पास्मोप्रक्सोभिन र ब्राउन सुगरसहित १४ जनालाई पक्राउ गरेको थियो। साथै यस्तो कारोबारमा संलग्नहरू विरुद्ध ९ वटा मुद्दा समेत चलाएको छ । भारतबाट लागुऔषध कारोबारमा संलग्नहरू नेपाली सीमासम्म आइपुग्ने र विभिन्न रुटमार्फत त्यस्ता नशालु पदार्थहरू सहजै रूपमा नेपाल आइपुग्ने भएकाले नियन्त्रण गर्न प्रहरीलाई समस्या भइरहेको छ । सीमा क्षेत्रमा निगरानी जति बढाए पनि नियन्त्रण गर्न कठिन हुने गरेको प्रहरी नायव उपरीक्षक विष्ट बताउँछन् ।
खुला सिमानाका कारण लागुऔषध कारोबार विशेष गरी कैलाली कञ्चनपुरमा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । चैत महिनामा लागु औषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले ४९ जनालाई पक्राउ गरी २९ मुद्दा दायर गरेकोमा निषेधाज्ञाको अवधिमा यस प्रकारको कारोबारमा संलग्न रहेको भन्दै ६८ जनालाई पक्राउ गरी ४२ मुद्दा दायर गरिएको छ ।
निषेधाज्ञाको समयमा अन्य व्यवसायहरू बन्द हुँदा काम नपाएपछि युवाहरू लागुऔषध लगायत अन्य तस्करीमा संलग्नता बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
‘सीमा नाकामा भारतबाट लागुऔषध भित्राउने हुँदा हामीले कडाइ गरेसँग नेपाली नागरिक मात्रै नभई भारतीय नागरिकलाई पनि पक्राउ गरेर लागुऔषध ऐन अनुसार कारवाही गरेका छौ ।’ उनले भने प्रहरीको सक्रियता बढेकै कारण यस्तो कारोबारमा संलग्नहरू धमाधम पक्राउ पर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।