पतिको किरियामा बसेका बेला आगोले जलेर घाइते भएकी पाँचथरकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका–४ जोरसालमा ग्यास लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी ७२ वर्षीया चनमाया सापकोटाको बुधबार बिहान मृत्यु भएको हो ।
पति भगीरथ सापकोटाको किरियामा बसेका पानी तताउने क्रममा सिलिण्डर ग्यास लिक भएर आगो लाग्दा उनी घाइते भएकी थिइन् । सोमबार राति भएको आगालागीमा परेर उनीसहित छोराहरू ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय पवन पनि घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि मेची अस्पताल भद्रपुरमा लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहान वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । छोराहरूको भने मेची अस्पतालमै उपचाररत छन् ।