सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटअन्तर्गत ब्राजिलले लगातार छैटौँ जित दर्ता गरेको छ । बुधबार बिहान विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ ब्राजिलले पराग्वेमाथि २–० गोलको जित निकालेको हो ।
पराग्वेको मैदानमा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र लुकास पाक्वेटाले एक–एक गोल गरे । खेलको चौथो मिनेटमा नै नेयमारले गाब्रियल जेससको पासमा क्लोज रेन्जबाट सहज फिनिस गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए ।
इन्ज्युरी समयमा नेयमारको पासमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिलाई २–० को जित दिलाए । जितसँगै विश्वकपको छनोटमा ब्राजिलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । ब्राजिलले यसअघि बोलिभिया, पेरु, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई हराएको थियो । विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ शीर्ष स्थानमा रहेको उसले ६ खेलमा १८ अङ्क जोडेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।