नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्ष भन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको हो ।
जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । यस वर्ष जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले जिल्लाको तीन स्थानमा धान ब्लक सञ्चालन गरेको, सिँचाइ सुविधा पुर्याएको लगायतका सुविधाहरु प्रदान गरेपछि चैते धानप्रति कृषकहरुको आकर्षण बढेको लामिछानेले बताए ।
किसानहरुक अनुसार वर्षे धानभन्दा चैते धानको उत्पादान राम्रो हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वर्षे धान प्रतिहेक्टरमा चार मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । यस वर्ष जिल्लामा करीव पाँच हजार मेट्रिक टन चैते धान उत्पादन हुने भन्दै लामिछानेले उत्पादन भएको धानमध्ये २५ प्रतिशत कृषकहरुले राखेर बाँकी बिक्री गर्ने बताए । “यहाँ उत्पादन भएको चैते धानको बजार सुनिश्चित भएको छैन” उनले भने, “यद्यपि हामीले ठूला धान मिलहरुसँग धान खरीद बिक्रीबारे कुरा गरिरहेका छौँ ।”
भारतबाट सस्तोमा धान आउने भएकाले यहाँका कृषकहरुले बाध्य भएर सस्तो मूल्यमा धान बेच्नुपर्ने अवस्था आउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
देशैभर चामलको आयात गर्नुपर्ने भए पनि नवलपुरबाट भने अन्य जिल्लामा पठाउने गरी उत्पादन हुने गरेको उनले बताए । चैते धानको प्रवद्र्धनका लागि जिल्लाको गैँडाकोट नगरपालिकाको वडा नम्बर ११ र १२ को भेँडाबारी, बुलिङटार गाउँपालिका–३ र कावासोती नगरपालिका–१७ को ढोकी फाँटमा ब्लकमार्फत चैते धान खेती भइरहेको छ ।
जिल्लाका लागि रामधान, हर्दिनाथ, सावित्री, सुख्खा ३, सावा मन्सुली जस्ता वर्षे धानका बिउहरु सिफारिस भएका छन् । लामिछानेले सूचीकृत बिउ बिक्री वितरणबारे एग्रोभेटहरुमा अनुगमन गरिएको बताउनुभयो । भारतबाट आएका हाइब्रिड जातका बिउ प्रयोग गर्दा कृषि अधिकृतहरुसँग सल्लाह लिएर मात्रै प्रयोग गर्न पनि कृषि ज्ञान केन्द्रले किसानहरुसँग आग्रह गरेको छ ।