नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षकी नेतृ रामकुमार झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी एकतर्फी वक्तव्यले पार्टी एकतामा काम नगर्ने बताएकी छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववत् अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए । ओलीको उक्त वक्तव्य आफूहरुलाई अलमल्याउने र झुक्याउन गरिएको उनले बताइन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। ’
झाँक्रीका अनुसार यही वक्तव्य पनि एकताका लागि गरिएको हो भने सहमतिमा जारी गरिनुपथ्र्यो । ‘त्यहाँ माधव नेपाल र केपी ओलीको बीचमा हस्ताक्षर भएर आउनुपथ्र्यो,’ उनले भनेकी छिन् ।
ओलीले विज्ञप्तिका ४ नम्बर बुँदामा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता दिन सर्त अगाडि सारेका थिए ।
‘बुँदा नम्बर चारको कुरा गरिएको छ । त्यो त असम्भव छ । आजको दिनमा २३ जना मान्छेले यो संसदलाई जोगाउनका लागि हस्ताक्षर गरेका हौं । संसद किन जोगाउने भन्दा लोकतन्त्र र जनताको प्रतिनिधिमूलक थलोलाई स्थिर बनाउनका लागि र यसले वैकल्पिक सरकार दिन्छ,’ उनी भन्छिन् ।
‘फिर्ता गर्ने हामी । खड्गप्रसाद ओलीले घोषणा गरेर फिर्ता लिइने छ भनेर लिइने छ । यो पनि कुनै एकताको वक्तव्य हो ?,’ उनको प्रश्न छ, ‘योबीचमा शीर्ष नेताहरुसँग पनि कुरा भएको छ । हाम्रो लाइन यही हो । जब संकट आउँछ । खड्ग प्रसाद ओलीले एउटा एउटा फण्डा गर्नुहुन्छ । यो अर्को फण्डा हो ।’