किसानको घरआँगनमा कागती बोट त देखिन्छन्, तर ती कागती व्यावसायिक प्रयोजनका लागि भने हुँदैनन् । त्यसैले त नेपाली बजारका लागि ८५ प्रतिशत बढी कागती भारतबाट आयात हुने गरेको छ । तराईको बजारमा उपलब्ध कागती पनि भारतबाटै आयात गरिंदै आएको छ ।
बजारमा बढ्दो माग र कम उत्पादनलाई मध्यनजर गर्दै सप्तरीमा पहिलो पटक एक अवकाश प्राप्त शिक्षकले कागती खेती सुरु गरेका छन् । कृषि पेशामा आर्कषण बढाउन तथा जिल्लामा कागतीको माग पुरा गर्न भागवत यादव खेतबारीको काममा लागेका हुन्
वार्षिक ४ पटकसम्म फल दिने कागतीतर्फ जिल्लाका कृषकहरुलाई उन्नमुख गर्न उनी प्रचारप्रसार समेत थालेका हुन् । सप्तरीमा वार्षिक झण्डै छ करोड रुपैया बराबरको कागती खपत हुन्छ । तर, कृषकहरु झनझट मानेर कागती खेती नगर्दा व्यापारीहरुले ५ करोड ४० लाख रुपैया बराबरको कागती भारतबाटै आयात गरेर बजारको माग परिपूर्ति गर्दै आएका छन् ।
भारतीय कागतीको माग घटाउन तथा जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले डाकनेश्वरी नगरपालिका वडा नं.९ का शिक्षक भागवत यादवले अवकाश पाएपछि घरसँगै टाँसिएको २ विघा जग्गामा कागती खेती सुरु गरेका छन् ।
२०३३ सालमा शिक्षण पेशामा लागेर प्रधानाध्यापक समेत भएर अवकाश पाएपछि कागती खेतीमा लागेका यादवको यतिवेला विरुवा रेखदेख तथा खेतीतर्फ कृषकको आर्कषण बढाउन प्रचारप्रसार गर्नु नै दिनचर्या बनेको छ ।
वर्षमा ४ पटकसम्म कागतीको विरुवा फल दिएपनि जानकारी नरहेका कारण झनझट मानिरहेका कृषकहरुलाई खेती गर्न आर्कषण बढाएर देशका ठुल–ठुला शहरसम्म कागती पु¥याउने सोच रहेको यादव बताउँछन् ।
हाल मासिक ३५ हजार रुपैयासम्मको कागती बजारमा पु¥याइरहेपनि भारतीय कागतीले बजार ओगटेकोले स्थानीय उत्पादनलाई बजार बनाउन कठिनाई हुनुकासाथै प्राविधिक अभावका कारण समेत समस्या हुने गरेको यादवको गुनासो छ ।
स्वास्थ्यकर्मीका अनुसार मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फस्फोरस र पोटासियमजस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के जस्ता भिटामिन पाइन्छ । औषधीय गुण भएकाले कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले मलेरिया, डायरिया, निमोनियाजस्ता रोगको सङ्क्रमण हुन दिँदैन ।
भिडिओ