मोरङको सुन्दरहरैँचा नगरपालिका–६ गछियाका किसान ऋषिकेश निरौला उमेरले ६२ वर्ष पुगे तर पनि शरीरमा जोश र जाँगर उत्तिकै छ । एक दशकयता गाई पाल्दै आएका निरौलाले त्यो जोश जाँगर कायमै राखेका छन् । तर पछिल्ला दुई वर्षमा भने उनको गाई पालन यात्रा धरमराइरहेको छ भन्दा फरक नपर्ला । एक दशक लामो गाई पालन यात्राकै सबैभन्दा पिरलो भने पछिल्ला दुई वर्ष नै हो उनका लागि । कोरोना भाइरसका कारण देश लकडाउनमा जाँदा उनको कृषि यात्रा पनि ओरालो लाग्दै गएको अनुभूति उनमा छ ।
२०६६ सालबाट निरौलाले गाई पाल्न थालेका हुन् । २०६८ सालमा निरौला कृषि फार्म नाम दर्ता गरेर गाई पाल्न थालेका ऋषिकेशको एक दशक यात्रा समानान्तर रह्यो । आम्दानीको सिलसिला पनि उस्तै रह्यो । कम्तिमा पनि २६ वटा गाई पाल्दै आएको भएपनि दूध बिक्री गर्न कहिल्यै कठिनाई आएन । गाईलाई महँगिएको दाना खुवाउनु परेन । दाना ढुवानी गर्दा कठिनाई भएको थिएन । त्यसबीचमा उनले गाई गोठ पनि विस्तार गरेर फराकिलो बनाए । दुई–तीन जनालाई रोजगारी दिए । आफू खटिए । श्रीमती र छोराको साथ पाए । तर उनको समानान्तर यात्रामा कठिनाई बन्नका लागि कोरोना भित्रियो । २०७६ सालको अन्त्यबाट सुरु भएको कोरोना महामारीले उनको यात्रा धरमराएको छ । उनी आफैँ पनि अब गाई पालेर खान नसकिने अवस्थामा पुगेको अनुभव सुनाउँछन् ।
कोरोनाकै कारण उनले गाईको सङ्ख्या घटाएर ८ पुर्याउनु परेको अवस्था छ । गाई मात्र नभएर उनले काम गर्नेको सङ्ख्या घटाएर एकमा झारेका छन् । परिवारसहित आफू पनि खटिँदै आएका छन् । हाल उनको गोठमा ८ बाछा–बाछीसहित १५ वटा गाई छन् । ८ वटा गाईको बिहान बेलुका गरेर कम्तीमा ६० लिटर दूध हुन्छ । तर कोरोनाकै कारण बेलकाको दूध बिक्री नहुँदा उनले नोक्सानी ब्यहोरिरहेका छन् ।
निरौला बिहान सबेरै चार बजे उठ्छन् र गाई दुहुन बस्छन् । त्यस काममा श्रीमती सीतादेवीका साथै छोरा विश्व र बुहारी अनुको उनलाई साथ रहन्छ । बाबु–छोरा मिलेर बाछालाई मनग्ये खुवाएरै ३० लिटर दूध दुहुन्छन् । अनि मोटरसाइकलमार्फत बोकेर सात किलोमिटर पश्चिम इटहरीको सुनसरीस्थित इटहरी दूग्ध उत्पादक सहकारी संस्था पुर्याउँछन् । तर कोरोनाका कारण प्रशासनले जारी गरेको निषेधाज्ञा यसक्रममा बाधक बन्न पुग्छ ।
ठाउँ–ठाउँमा बसेका प्रहरीले उनलाई रोक्छन् । दूधलगायत अत्यावश्यक वस्तुमा प्रशासनले खुकुलो पारेको भए पनि प्रहरीले धेरै ठाउँमा सताउने गरेको उनको गुनासो छ । ‘दूधलाई त छोडिदिनु पर्ने हो, त्यै पनि कडाइ हुन्छ’, उनी भन्छन्, ‘कार्ड माग्नुहुन्छ प्रहरी साथीहरू । संस्थाले बनाइदिएको कार्ड देखाउँदा पनि सहजै आवत-जावत गर्न मुस्किल पर्छ । अवरोधका बीच दूध इटहरी पुग्छ ।’ अलि खुकुलो भएका कारण बिहान दूध पुर्याए पनि बेलुका लान नपाइने उनको भनाइ छ ।
बेलुकाको नबिकेको दूध गाउँलेले समेत खान मान्दैनन्
केही समयअघि निरौलाको घरबाटै पनि दूध बिक्री गर्थे । तर महामारीका कारण गाउँ–घरमा दूध बिक्दैन । त्यतिमात्र होइन, पछिल्लो एक महिना गाउँघरमा निःशुल्क बाँड्दा पनि नलाने गरेको उनी सुनाउँछन् । ‘कति खानु उनीहरूले पनि । गाउँलेले दूध, दही, मोही खाएर पनि वाक्क भइसके । अब त आइदेओ, दूध लगिदेओ भन्दा पनि मान्दैनन्’, उनी भन्छन्, ‘परिकार बनाउनलाई सीप छैन । वडाले तालिम दिएको छैन । घिउ बनाउनलाई घिउ लाग्दैन । ठूलो नोक्सानी ब्यहोरिरहेको छु ।’
निरौलाले डेरीमा ६२ रुपैयाँ लिटरमा दूध बेच्छन् । गाउँघरमा पनि यस्तै दाम छ । तर कोरोनाका कारण गाउँघरमा पनि बाँड्छु भन्दा पनि नखाइदिने गरेको गुनासो निरौलाको छ । निरौलाको चार जनाको परिवारलाई ३० लिटर दूध ओखाइ–पोखाइ छ । त्यै पनि विरोधस्वरूप बाटोमा लगेर दूध पोख्ने विषयमा भने उनी चर्को विरोध गर्छन् । ‘किसानहरूले बाटोमा दूध पोखेर विरोध गरेको देखेको छु । तर म त्यस्तो गर्दिनँ’, उनी भन्छन्, ‘बाछा–बाछीलाई पर्याप्त खान दिएर उब्रिएको दुध पकाएर दही–मोही बनाउँछौँ । दूध अहिलेसम्म फ्यालेका छैनौँ । मोहीसम्मचाहिँ फाल्छौँ ।’
बढी मेहनत, दोहोरो नोक्सान
निरौला कृषि फार्ममा मासिक रूपमा ३६ बोरा दाना र चोकर खपत हुन्छ । प्रतिबोरा २१ सयका दरले किनेको दाना गाई गोठसम्म ढूवानी गर्दा चर्को मेहनत गर्नु परेको छ । प्रहरीले दूध बोक्नेलाई असहज मान्दै खुकुलो पारेपनि दाना बोक्नका लागि सफारी चल्न दिँदैनन् । यसैले मोटरसाइकलमै ढुवानी गर्नुपरेकोले कठिनाई भएको उल्लेख गर्दै उनले यसबाट बढी मेहनत मात्र नभएर खर्च पनि बढी भएको बताए ।
‘गाई पालन गर्नु त आम्दानी नभएर समाजसेवा जस्तै भइसक्यो । यत्रो वर्ष गाई पाल्दा पनि गाडी किन्ने क्षमता बनाइसकेको छैन । अर्काकै साधनमा दाना बोक्दै थिएँ । निषेधाज्ञामा भने बाइकमा हालेर दुःखका साथ काम गर्दैछु’, उनले दुखेसो पोखे । यसैगरी निरौलाले वार्षिक ६० हजार तिर्नेगरी भाडामा लिएको तीन विघा खेतमा घाँस लगाएका छन् । तर कामदार एक जना मात्र भएकाले घाँस काट्न आफैँ भिड्नुपर्ने अवस्था भएको सुनाउँदै गाई पालनबाट पछिल्लो महिनायता दोहोरो नोक्सान भइरहेको सुनाए ।
डेरी भन्छ : हामी पनि दोहोरो बेफाइदामा छौँ
गाई पालक निरौला मात्र होइन, कोरोनाका कारण डेरीले पनि दोहोरो नोक्सानी ब्यहोर्नुपरेको छ । इटहरी दुग्ध उत्पादक सहकारीले किसानबाट दूध सङ्कलन गरेर दुग्ध विकास संस्थानअन्तर्गत विराटनगरस्थित दुग्ध वितरण आयोजनामा पुर्याउँछ । तर त्यहाँबाट डेरी भुक्तानी नपाएका कारण किसानलाई दिन सकस भइरहेको इटहरी दुग्ध उत्पादक सहकारीका प्रमुख उमेश वस्ती बताउँछन् ।
उनका अनुसार हाल डिडिसीबाट सहकारीले माघ महिनायता भुक्तानी लिन बाँकी छ । कम्तिमा ४० लाख रुपैयाँ डिडिसीले भुक्तानी गर्न बाँकी रहेको वस्तीले बताए । डिडिसीले डेरीलाई बिहान ९५० लिटर मात्र दूध लिने जनाउँदै परिपत्र गरेको थियो । सोहीअनुसार दूध पठाएको भएपनि भुक्तानी नपाएको वस्तीको गुनासो छ । ‘हामी पनि अहिले दोहोरो क्षतिमै छौँ । डिडिसीले पैसा दिएको छैन । किस्ताबाट उठेको पैसा किसानलाई उपलब्ध गराएका छौँ । अझ बेलुकाको दूध ल्याउन नपाउँदै दुवैतर्फ क्षति भइरहेको अवस्था छ । बेलुका पनि दूध बिक्री खुला गर्न सिडिओसँग नियमित सम्पर्कमा छौँ,’ उनले भने ।
आयोजक भन्छ– १२ करोड नजिक भुक्तानी गर्न बाँकी छ
यता, दुग्धजन्य पदार्थको बिक्रीमा आएको ह्रासका कारण डेरी उद्योगलाई किसानबाट सङ्कलित दूधको व्यवस्थापन गर्न मुस्किल परिरहेको छ । कोरोना सङ्क्रमण र निषेधाज्ञासँगै बजारमा खपत घटेपछि दूध तथा दूधका उत्पादन बिक्री कारोबारमा ६० प्रतिशतले गिरावट आएको आयोजना प्रमुख गणेश यादवले जानकारी दिए ।
यादवले पूर्वक्षेत्रका विभिन्न जिल्लाबाट दैनिक २५ हजार लिटर दूध संस्थानले सङ्कलन गरिरहेको बताउँदै हेटौँडा र बुटवलबाट दैनिक सात हजार लिटर दूधसमेत आइरहेको बताए । अहिले आयोजनाले किसानबाट सङ्कलित दूधको पाउडर उत्पादन गरेर भण्डारण गर्दै आएको छ । उत्पादनमध्ये ४० प्रतिशत मात्रै सामग्री बिक्री भएकाले आयोजनालाई पाउडरसहितका वस्तु थन्क्याउन हम्मेहम्मे परिरहेको छ ।
प्रमुख यादवले गत वर्षको लकडाउनमा उत्पादित दुग्ध सामग्री नै गोदाममा थन्क्याइरहनुपरेका बेला थप सामग्री उत्पादन गर्नुपर्दा झन् समस्या थपिएको बताए । विराटनगरस्थित आयोजनाको गोदाममा १३ करोडभन्दा बढी मूल्यको २३७ मेट्रिक टन पाउडर, तीन करोड ५० लाख बराबरको ५० मेट्रिक टन नौनी तथा ८५ लाख बराबरको तयारी घिउ रहेको यादवले बताए ।
उत्पादित सामग्री बिक्री नहुँदा आयोजनाले डेरीलाई तीन महिनादेखि भुक्तानी गर्न सकेको छैन । डेरीको १२ करोड नजिक भुक्तानी दिनुपर्ने बाँकी रहेको छ । वैशाखदेखि असारसम्मको तीन महिना मुख्य सिजनका रूपमा बिक्री हुने दूध तथा उत्पादित वस्तु गत वर्ष र यस वर्ष नै बिक्री भएको छैन ।
भिडिओ