म बतास हेरी रहन्छु, बतास हिँडिरहन्छ।
म खोला हेरी रहन्छु, खोला हिँडिरहन्छ।
म घडी हेरिरहन्छु, समय हिँडिरहन्छ।
नहिँड्ने म मात्रै हु, मेरो शरीर मा रगत हिँडिरहन्छ ।।
तिमी भोट मागिरहन्छौ, कुर्सी मागिरहन्छौ ।
नमाग्ने म मात्रै हु, छाला को धोक्रो ले अन्न मागिरहन्छ।
तिमी, कुर्सी र तिमी सँगै देख्छौ ।
म, म र मेरो शरीर लाई फरक देख्छु।।
म तिमीलाई देख्छु, तिमी मलाई देख्दैनौ ।
म तिम्रो कुरा सुन्छु, तिमी मेरो कुरा सुन्दैनौँ ।
म तिम्रो भाषा बुझ्छु, तिमी मेरो भाषा बुझ्दैनौ।।
म कुन तस्बिर ले देखाऊ मेरो पीडा ।
म कुन शब्द ले सुनाऊँ खाली पेट को कुरा ।
म कुन भाषा ले बुझाऊ खाली पेट को कथा।।
हो, आज लकडाउन, हो रे हो आज बन्द हो रे।
म बन्द भएको छु, भारी बोक्न, हिँड्न डुल्न।
तिमी स्वस्थ भै बाँच्न चाहन्छौँ म भोको नरही
बाँच्न चाहन्छु, तिमी रोग ठुलो ठान्छौ म भोक ठुलो ठान्छु।।
बन्द बढ्यो भने, तिम्रो आयु बढ्ने छ।
बन्द बढ्यो भने,मेरो आयु घट्नेछ।
बन्द बढ्यो भने, मेरो शरीर मा रगत बग्न बन्द हुनेछ।
मुटु चल्न बन्द हुनेछ, म बन्द हुनेछु।।
अब बन्द गरिदेऊ ई बन्दहरू ।
म एक छाक आफ्नै पसिना ले टार्न चाहन्छु ।
अब बन्द गरिदेऊ ई बन्द हरू
म मेरी छोरी लाई हात समाइ विद्यालय पठाउन चाहन्छु ।।