तराईको चर्को घाम, त्यसमाथि उनको यादले जीउ झनै गह्रुङ्गो भएर शरीर पसिनै–पसिना भएको थियो । थकानले मेरा पाइलाहरू पनि गल्दै गइरहेका थिए । लामो बाटो हत्केलाले घामका किरणहरू छेक्दै हिँडिरहेको बेला केही पर एउटा रुख ठिङ्ग उभिरहेको देखेँ ।
बिस्तारै थकित पाइतलाहरु घिसार्दै म त्यस रुखको नजिकै पुगेर छहारीमा घामको रापलाई छेकेर बसेँ । केही बेर त्यस रुखले मलाई घोरिएर हेरिरह्यो, मैले केही पर पहाडमा देखिएका रुखहरूलाई हेरिरहेको थिएँ । अचानक मेरा आँखा भुईँमा रहेको एउटा सानो झारको फुलमाथि पर्यो । मैले त्यस फुललाई मुस्कुराउँदै हेरिरहेँ ।
त्यस फुललाई एकोहोरो हेरेको देखेर रुखले मुस्काउँदै मलाई पस्न गर्यो –“तिमी मानिसहरू निकै अचम्मका हुन्छौ है ?” मैले केही नबुझी आश्चर्य मान्दै टाउको माथितिर घुमाएर रुखतिर एकोहरो हेरिरहेँ, रुखले फेरि घामको तालोलाई चिसो बनाउँदै मुसुक्क हाँस्दै भन्यो –“तिमी पनि त्यही मानिस त हो नि, स्वार्थी र बैगुनी ।”
मैले उसलाई प्रतिप्रश्न गरेँ, ‘किन, मैले तिमीलाई के गरेँ र?’ उसले अझै ओठमा मुस्कान थप्दै भन्यो– “म आफू घाममा तातिएर तिमीलाई शीतलता दिइरहेको छु तर तिमीले मलाई कुनै वास्ता नगरी मनमनै पर–परका रुखहरू अनि तिम्रो पैतलासंगैको फुल हेरेर मुस्कुराउँदै उसको प्रशंसा गरिरहेका छौ ।”
उसको कुराले म झसङ्ग भए । उसको प्रेम, उसको हेराई जति बेला म पहिलो चोटि यो संसारमा पाइला टेकेर मेरी आमाको दूध पहिलो चोटि खाँदाको जस्तै दुरुस्त थियो, मुस्कान मेरी आमाको जस्तै । उसले फेरि मलाई प्रश्न गर्यो ।
“अझै तिमीले आफूबाट बाहिर निस्कन सकेनौ, तिमी जहाँ अडेस लागेका छौ नि त्यो पनि मै हुँ । मैले तिमीलाई विगत भुल भनेको होइन । मेरो मतलब भविष्य बारे नसोच भनेको पनि होइन । विगत तिम्रो पाठ हो, शिक्षा हो, शिक्षा बिना मानिस अधुरो हुन्छ तर वर्तमान भोगाई हो, वर्तमान प्रेम हो वर्तमान नै जीवन हो ।”
मलाई त्यस रुखले बोलेका कुराहरू पटक्कै मन परेनन् । म त मानिस हुँ संसारको सबैभन्दा चेतनशील प्राणी । मलाई सर्वज्ञानी छ, नाथे रुखले मलाई ज्ञानगुनका कुरा सिकाउने ? म झनक्क रिसाउँदै जुरुक्क उठेर त्यहाँबाट निस्किएँ । म हिँडेको देखेर रुखले हँसिलो अनुहार बनाउँदै मलाई रोक्यो र भन्यो – “एक छिन पर्ख ।”
मैले मेरो उचालिएको पाइला भुईँमा राख्दै टाउको मोडेर रुखतिर हेरेँ । “तँ कति कठोर छस् तँलाई थाहा छ ? केही छिन पहिले तैँले जुन फुल हेरेर मुस्कुराउँदै मक्ख परेको थिइस् नि, त्यस फुललाई तैँले नै कुल्चेर उसको अस्तित्व मेटेर गाँथिस् ।“
मैले फुलतिर हेरेँ । फूललाई मेरो पैतालाले क्षतविक्षत बनाइसकेको रहेछ । रुखले लामो चिसो सास मतिर फाल्दै भन्यो –”यो तेरो दोष होइन मनुष्य ”
रुखको यस बोलीले मलाई स्थिर बनायो । मैले त म नै त्यस फुलको हत्यारा हुँ भन्ने कुरा मनमनै स्विकारिसकेको थिएँ, तर त्यो रुख, जुन त्यो फुलको हत्याको साक्षी थियो, उसैले नै मलाई किन दोषी देखेन ? म अचम्मित भएँ, मेरो निधारमा चिटचिट पसिना आउन थालिसकेको थियो । मैले केही पाइला अगाडि बढाएँ गन्तव्यतिर । रुखले फेरि अलि परबाट मेरो अनुहारतिर चिसो हावा फाल्दै भन्यो –’तँ त यात्री होस् यात्री,यात्री जहिले पनि सिकारु हुन्छ ।’
यति बोलेर रुख मौन भयो । रुखका हरेक प्रश्नले मेरो मनमा काउकुती लगाइरह्यो । डायरीमा कोरिएका मेरा कविताका हरफहरू पनि मौन भएर डायरीको पानाबाट लुकेर मलाई टुलुटुलु हेरिरहेका थिए । तातो घामले मेरो शरीर वाट पानी बाहिर निकालेर मलाई रित्तो बनाई रह्यो, मेरा पाइला रोकिए । म त्यही रुख झैँ ठिङ्ग उभिइरहेँ ।