सुन्दरहरैँचा–११ का अर्चन तिमिल्सेना हाल कक्षा ११ मा अध्ययनरत छन् । सुन्दरहरैँचा–७ स्थित पञ्चायत उच्च माध्यमिक विद्यालयमा अध्ययनरत उनले कोरोना महामारीका कारण भर्चुअल शिक्षा लिइरहेका छन् ।
केही साताबाट मात्र विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी अनलाइन कक्षा सुरु गरेको हो । तर दिनैभरी बजुली झ्याप्प–झ्याप्प जाने शृङ्खला चलिरहँदा अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन ।
११ बजेबाट उनको अनलाइन क्लास २ दुई बजेसम्म चल्छ । तर त्यसबीचमा कमसेकम पनि पाँच पटक जाँदै–आउँदै गर्छ । यसबाट अनलाइन क्लास लिने विद्यार्थीमात्र नभएर उनीहरूलाई सिकाइरहेका शिक्षक पनि हैरान छन् । सुन्दररहैँचा–११ तिर बेलबारी फेडेरअन्तर्गतको बिजुली छ । धेरै लोड दिनुपरेका कारण प्राधिकरणले उक्त क्षेत्रतिर समस्या भएको भन्दै बत्ति काट्ने गरेको छ ।
सुन्दरहरैँचा–८ की समीक्षा खतिवडा पञ्चायत उच्च माविमा पढाउँछिन् । महामारीका कारण विद्यालयले अनलाइन क्लास लिइदिन भनेपछि उनले विद्यार्थीलाई पढाउन थालेकी हुन् । तर उनी पनि अनलाइन कक्षा बत्ति र इन्टरनेटको समस्याका कारण प्रभावकारी नभएको बताउँछिन् ।
‘कहिले विद्यार्थीको घरमा बिजुली जान्छ त कहिले नेट जान्छ’, उनले भनिन्, ‘आफ्नै घरमा पनि त्यस्तो समस्या आउँछ । पढाउँदै गर्दा बिजुली गएपछि सबै कुरा विद्यार्थीले भुलिदिन्छन् । कहिले तत्काल आउँछ कहिले लामो समय पर्खेर बस्नुपर्ने बाध्यता रहन्छ । हाम्रोजस्तो देशमा अनलाइन क्लास खासै प्रभावकारी देखिनँ मैले ।’ नेटको अवस्था स्लो हुने तथा विद्यार्थीले बत्ति गएको भने अन्तै भुलिदिने भएका कारण पनि प्रभावकारी नरहेको उनको भनाइ छ ।
समीक्षा र अर्चन मात्र होइनन् । बत्तिको समस्याका कारण सुन्दरहैँचाका अर्का विद्यार्थी अग्रिम काफ्लेले राम्ररी अनलाइन कक्षा लिन पाएका छैनन् । उनी पूर्वाञ्चाल मन्टेश्वरीमा नर्सरी कक्षामा पढ्छन् । विद्यार्थीले पढेको नभुलुन् भनेर पूर्वाञ्चलले पनि साना विद्यार्थीहरूलाई अभिभावकको रहोबर हुनेगरी अनलाइन कक्षा सुरु गरेको छ । बीच–बीचमा झ्याप्प–झ्याप्प बत्ति जाँदा उनको अनलाइन क्लास पनि प्रभावकारी बन्न सकेको छैन ।
यता, विद्युत प्राधिकरणका कर्मचारीको पनि एउटै स्वर छ । उनीहरू गर्मी महिना भएका कारण सबैले फ्यान, एसी तथा फ्रिज चलाउने भएका कारण लोड लिन नसक्दा समस्या भएको उल्लेख गर्छन् ।
विद्युत प्राधिकरण, बेलबारी वितरण केन्द्रका एक कर्मचारीले भने, ‘वर्षा लाग्दा चट्याङले प्रभाव पार्छ । खडेरी लाग्दा पनि पानी तान्ने मोर्टर चलाउँछन् र लोड बढी हुन्छ । यसैले पनि निरन्तर बत्ति दिन असहज हुन्छ ।’