भोजपुरको पौवादुङ गाउँपालिकामा एक छात्राले आफ्नो शिक्षकको घाँटी रेटेकी छन् । ट्युसन पढाउने शिक्षकले फोनमा म्यासेज गर्दै ‘आई लभ यू बूढी’ भन्दै म्यासेज गरेपछि गत शनिबार भोजपुरको पौवादुङ गाउँपालिका–६ की २४ वर्षीया छात्रा नशा राईले शिक्षक योगेन्द्र कार्कीको खुकुरीले घाँटी रेटेकी हुन् ।
घटना गत शनिबारको हो । पौवादुङ–४ का २९ वर्षीय शिक्षक कार्की ती छात्रालाई ट्युसन पढाउन ठूलोदुङ्मा जाने गर्थे । आफ्नै छात्रा नशाको फोन नम्बर पाएका शिक्षकले म्यासेजमा ती छात्रासँग कुरा गर्थे । केही समयता भने उनले ती छात्रालाई ‘ओई बुडी, आई लभ यु, डार्लिङ भन्ने सन्देश पठाएका थिए । त्यसपछि आक्रोशित बनेकी ती छात्राले शनिबार राति ९ बजे माने डाँडामा शिक्षक कार्कीलाई ‘सरप्राइज’ दिने भन्दै बोलाएकी थिइन् ।
सरप्राइज पाउने आशामा त्यहाँ पुगेका कार्कीले युवतीले भनेअनुसार गरे । ‘युवतीले आँखा चिम्लिनु, घाँटी ठाडो पार्नु भनिछन् र सो आदेशअनुसार काम शिक्षकले गरेका रहेछन् । त्यसपछि युवतीले घाँटी रेटेकी रहेछिन् । शिक्षकको घाँटी छिन्न केही मात्र बाँकी थियो’, उनको उपचारमा संलग्न डाक्टरले भने ।
युवतीले घाँटी रेटेपछि घाइते भएका शिक्षक कार्की जसोतसो डाँडाबाट गाउँबस्ती भएको ठाउँमा पुगेका थिए । त्यसपछि स्थानीयले उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी मानेडाँडा पु¥याएका थिए ।
त्यहाँ डा. कैलाश विश्वकर्माले कार्कीलाई सामान्य उपचार गरी थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरेका थिए । विराटनगरमा उपचार गरी कार्कीलाई पुनः जिल्ला अस्पताल ल्याइएको र थप उपचार भइरहेको डा. विश्वकर्माले बताए ।
यता, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी कृष्णकुमार चन्दले ती छात्रालाई हिरासतमा लिएर अनुसन्धान थालेको जानकारी दिए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र बस्तीस्थित प्रहरी चौकीबाट टोलीले उनलाई सोही राति पक्राउ गरेको हो ।
खुकुरी प्रहार गर्ने युवतीले आफूमाथि शिक्षकले अशभ्य शब्दहरू म्यासेन्जरमा पठाएकाले सहन नसकेर आक्रमण गरेको बताएकी छन् ।