पहाड तिर एउटा चरा पाइन्छ मुस्टे चरा भन्ने असाध्यै सानो! कथानक यस्तो छ, उक्त चरा पुस पन्ध्र को रात यति धेरै तड्पी तड्पी गुजार्छ जसको कुनै लेखा जोखा नै हुँदैन । त्यस दिन वर्ष भरिकै छोटो दिन र रात वर्ष भरिकै सबै भन्दा लामो हुन्छ भन्ने किम्बदन्ती छ । (विज्ञान सम्मत डिसेम्बर २१ को दिन लामो रात मानिन्छ, यहाँ लोक उक्ति सम्मत उद्धरण गरिएको) । दिनभरि को चारा खोजाई र आफ्नो शारीरिक बनावट त्यो रात गुजार्न मुस्टे चराको लागि बडो गाह्रो विषय हुन्छ ।
कोरोनाको विकराल अवस्थाबाट हामी गुज्रिरहेका छौँ। ” भेरी अस्पतालमा स्वास्थ्य कर्मी माथि आक्रमण”, “पोखरामा अक्सिजन को अभावले पच्चीस वर्ष कि महिला सहित छ जना मृत्यु”,आज कोरोनाको कारण यति जनाको मृत्यु, कोरोनाको कारण व्यवसायीहरू मर्कामा सरकारले उचित सम्बोधन गर्न नसके सधैँका लागि व्यवसाय बन्द गर्नु पर्ने अवस्था आउन सक्ने व्यवसायीहरूको गुनासो, विद्यार्थी र शैक्षिक क्षेत्र ठुलो अन्यौलता, आगामी शैक्षिक सत्र कसरी अगाडी बढाउने द्विविधामा जस्ता समाचारहरूको हेडलाइनहरू लगातार आइरहेका छन् ।
मृतक सङ्ख्या थपिँदै छ, अवस्था यति कहाली लाग्दो छ। लगभग हामीले गत वर्ष पुरै कोरोना कहर र लकडाउनमा नै गुजार्यौं । कोरोनाको पहिलो लहरमा त्यति लामो समय लकडाउन गरेर सरकारले पूर्व तयारी चाहिँ केही गरेन । कोरोनाको दोस्रो लहरले अहिले देश हायल कायल छ, जनताको अवस्था यत्ति नाजुक हुँदै छ कि बिहान के खाऊ बेलुका के खाऊ भन्ने हात मुख जोड्ने आधारभूत समस्याले नै पिल्सिँदै छन् अनि कदम कदाचित बिरामी भइहाले कसो गर्ने, कहाँ जाने भन्ने मानसिक चिन्ता बाट गुज्रिँदै छन् ।
तर सरकार मात्र निषेधाज्ञाका शृङ्खलाहरू अरू थपिरहेको देखिन्छ । “नेकपा” नामक बुख्याचाको स्वामित्व लिने लडाई सकिए पनि कथित “एमाले” को स्वामित्व र सरकारको टुकुड़ी चलाउने लडाइँले अहिले देश ठुलो दलदलमा भासिरहेको छ। प्रधानमन्त्री आफ्नो पद सँग यसरी लिप्त छन् जसको लागि उनी संविधान, नैतिकता र जिम्मेवारी सँग पुरपुर सम्बन्ध विच्छेद गर्न तयार छन् । प्रधानमन्त्री दिनहुँ आफूले गरेको कामको फेरिहस्ती सुनाउँछन्, काम भएको अनुभूति कतै भएकै छैन। समयको आवश्यकता,परिस्थितिको विषमता र विषमतालाई नजरअन्दाज गर्दै संविधानको मर्म र भावनालाई कुल्चिएर पदमा टाँसिरहेको प्रधानमन्त्री यो विषमकलामा प्रतिनिधि सभा भंग गर्दै निर्वाचनको घोषणा गरिरहेको छ।
बेनाम झाडीमा अर्धनग्न लास बनेकी नाबालिका निर्मलाहरू, भेरीको भेलमा बगाइएका नवराजहरू अनि कुनै सडकका पेटीतिर अनाहक मरिरहेका शेर बहादुरहरू यी र यस्तै लैङ्गिक विभेद,जातीय विभेद अनि वर्गीय विभेदहरूले बारबार हामीलाई गिज्याइरहेछ के हाम्रो परिकल्पनाको लोकतान्त्रिक गणतन्त्र यस्तै थियो त ?
सत्ताको लागि छद्म राष्ट्रवाद र उखानका पुलिन्दाहरूले गणतन्त्रको भाव र जिम्मेवारीलाई न्याय गर्दैन प्रधानमन्त्री ज्यू ।
आज १४ औँ गणतन्त्र दिवस मनाइरहँदा कतै नेपाली जनताको लामो सङ्घर्ष र हजारौँ सहिदको बलिदानी ले आर्जित “लोकतान्त्रिक गणतन्त्र” र “लोकतान्त्रिक गणतन्त्रको यस अवधि” प्रधानमन्त्री, समकालीन राजनैतिक पार्टी र कथित लोकतान्त्रिक नेता भनिएका हरूको कार्य शैलीबाट, गतिविधि बाट पुस पन्ध्र को मुस्टे चराको जस्तो हालत नेपाली जनताको भइरहेको हो कि?
“Every nation gets the government it deserves” 18 औँ शताब्दीको सुरुवात तिर दार्शनिक Joseph De Maistre ले भनेका उद्दारण सम्झिँदै, यस बेला हामी धेरै समस्याहरू र निराशहरूको भुमरीमा अल्झिरहेका छौँ! समयको नै विकल्प त हामी सँग हुँदैन तर हाम्रो सामु आइपुगेका/ आइरहेका कयौँ कुराहरूको केही विकल्प हामीले रोज्न सक्थ्यौँ अझै सक्छौँ पनि, के हामी ती आउँदो विकल्प हरू साँच्चै आत्मसाथ गर्न तयार छौँ त?
लेखक नेपाल विद्यार्थी संघमा आबद्ध छन् ।