प्रधानमन्त्री केपी ओलीको ‘कमब्याक’लाई पुँजी बजारले भव्य स्वागत गरेको छ। केपी ओली पुन: प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक खुलेको आइतबारको सेयर बजारमा गजबको चमक देखिएको छ।
कोरोना संकटलाई पनि बिर्साउने गरी सेयर बजारको सूचक र कारोबार दुवैमा उछाल देखिएको छ। नेप्से परिसूचक र कारोबार दुवै अंकले नयाँ रेकर्ड कायम गरेका छन्।
आइतबारको बजारमा नेप्से परिसूचक ५४.२६ अंकले बढेर २७३८.३५ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि गत बैशाख २ गते नेप्से परिसूचक १७३५.४० बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । तर उक्त रेकर्डलाई आज(जेठ २ गते) को बजारले सजिलै पार गरेर नयाँ उचाईमा पुगेको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि एैतिहासिक रेकर्ड कायम भएको छ । बजारमा एकैदिन १० अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन नेपाली पुँजीबजारको इतिहासमा हालसम्मकै उच्च कारोबार हो । यसअघि गत फागुन ४ गतेको बजारमा कूल १० अर्ब ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
बजारमा कूल २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ८५ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १६४३ रुपैयाँ पुगेको छ ।
कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको बजारमा कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । त्यस्तै, बजारमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै रुरु जलविद्युत्, शिखर इन्स्योरेन्स, समता घरेलु लघुवित्तसहितका आठ वटा कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेकाे छ । १४६ कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा ३२ वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ३.९ प्रतिशत घाटा व्यहोरे । आइतबार सबै समूहकाे उपसूचक सकारात्मक बने ।
सबैभन्दा धेरै निर्जीवन बीमा समूह ४.२८ प्रतिशत र विकास ब्यांक समूह ३.८७ प्रतिशतले बढेको छ । जीवन बीमा समूह ३.०४ प्रतिशत, ब्यांकिङ समूह १.५४ प्रतिशत र लघुवित्त समूह १.८९ प्रतिशतले बढेकाे छ ।