
मोरङ व्यापार सङ्घले कोरोना सङ्क्रमणको जोखिम कम गर्न तत्काल कर्फ्यू लगाउन सरकारसँग माग गरेको छ । आइतबार व्यापार सङ्घले बिज्ञप्ति जारी गर्दै मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाउन कम्तीमा सात दिन कर्फ्यू लगाउन माग गरेको हो ।
विज्ञप्तिमा समुदायस्तरमा फैलिएको कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न देशव्यापी रूपमा कम्तीमा दुई साता दिन कर्फ्यु लगाउन माग गरिएको हो । नागरिकको जीवन बचेमा मात्र उद्योग र बजार चल्ने भन्दै नेपाल उद्योग परिसङ्घका प्रदेश १ अध्यक्ष भीम घिमिरेले सङ्क्रमण नियन्त्रणका लागि कम्तीमा १० दिन भएपनि कर्फ्यु लगाउन प्रशासनलाई आग्रह गरेका छन् ।
व्यापार सङ्घद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘मानव जीवन रक्षा चुनौतीपूर्ण बन्दै गइरहेको विषम् परिस्थितिले अझ विकराल रूप लिन सक्ने तथा मुलुकमा ठूलो दुर्घटना घट्न सक्ने प्रवल सम्भावनालाई मध्यनजर गरी हाल मुलुकमा कम्तीमा ७ दिन कर्फ्यू लागू गर्न नेपाल सरकारसँग जोडदार अपिल गर्दछौँ ।’
यसैगरी, मोरङ व्यापार सङ्घले विज्ञप्ति नै जारी गरी कोरोना सङ्क्रमणको चेन ब्रेक गर्न कर्फ्यु लगाउन आग्रह गरेको छ । सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले जारी गरेको विज्ञप्तिमा कम्तीमा सात दिन मुलुकभर कर्फ्यू लगाउन आग्रह गरिएको छ ।