विराटनगर, १ जेठ । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा मोरङ प्रहरीले पनि सुरक्षा व्यवस्था कडा पारेको छ । यसको ज्वलन्त उदाहरण शनिबार प्रहरीले विराटनगरका दुई व्यापारीमाथि गरेको लाठीचार्ज बन्न सक्छ ।
मोरङ प्रहरीले निषेधाज्ञाको समयमा पसल खोलेको भन्दै विराटनगरका दुई ब्यापारीमाथि लाठीचार्ज गरेको हो । ट्राफिक चौकस्थित झापाली किराना स्टोर एन्ड जानकी बेकरीका दुई ब्यापारीलाई बिहान लाठीचार्ज गरेको हो । पसलमा बसेका २७ वर्षीय मनिषकुमार साह र २९ वर्षीय सोनुकुमार साहमाथि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट उनीहरू सामान्य घाइते भएका छन् ।
उनीहरूलाई सङ्क्रमण ऐन २०२० विपरीत कार्य गरेको भन्दै वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बल प्रयोग गरेको मोरङ प्रहरीका एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार उनीहरूमाथि कुनै ब्यक्तिगत रिसिइबी साँध्ने आधारमा नभई निषेधाज्ञाको आदेश अटेर गरेर पसल खोलेका कारण सामान्य बल प्रयोग गरिएको हो ।
‘पसल खोलेर पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको पाइएन । फेरि निषेधाज्ञा उल्लङ्घन गर्दै अत्यावश्यकबाहेकको पसल खोलेको पाइयो । यसैले सामान्य बल प्रयोग मात्र गरिएको हो’, उनले केटिएम दैनिकसँग भने, ‘यो बेलामा सङ्क्रमणको चेन ब्रेक गर्नुपर्नेमा त्यसो गरेको पाइएन । यसमा सबैले प्रहरीसँग समन्वय गर्नुपर्नेमा उल्टो भयो । ऐनविपरीत जानेलाई मुद्दा पनि चलाउन सक्छौँ ।’
यसैगरी एसपी खड्काले मोरङमा हालसम्म निषेधाज्ञा उल्लङ्न गरेर हिँड्ने ४० हजारभन्दा बढीलाई सम्झाइ–बुझाई गरेर पठाएको छ भने ११ हजारभन्दा बढीलाई जरिवाना तिराएको छ ।
निषेधाज्ञाका बेलामा अत्यावश्यकबाहेकका पसल खोल्ने ११ हजार जनालाई प्रतिब्यक्ति रु सय रुपैयाँको दरले जरिवाना तिराइएको उनले बताए ।