कोरोना सङ्क्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि:शुल्क उपलब्ध गराउने भएको हो ।
महामारीको समयमा अस्पताल वा क्लिनिक जाँदा सरुवा रोग कोभिडलगायतका सङ्क्रमणहरु सर्ने सम्भावना हुँदा टेलिमेडिसिन सेवामार्फत सेवा लिन सकिने जनाइएको छ । सामान्य लक्षण भएका सङ्क्रमित पत्रकारहरुलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस् भनेर क्यूराहेल्थले यस्तो सुविधा निःशुल्क दिन लागेको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताइन् । कोरोना सङ्क्रमणपछि उत्पन्न हुनसक्ने डर, त्रास र सङ्क्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्शसमेत उपलब्ध गराइने उनले बताइन् ।
टेलिमेडिसिन सेवा प्राप्त गर्न क्यूरा हेल्थको मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्ने जाजुले बताइन् । उनले भनिन्, ‘एपमा देखाइएअनुसार कोभिड–१९ खण्डमा गई सूचिकृत भएका चिकित्सकहरूसँग एपोइटमेन्ट लिनुपर्छ र चिकित्सकहरूबाट सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।’
यसैबीच क्यूरा हेल्थसँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) विराटनगर शाखा र पत्रकार महासङ्घ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरूलाई सम्पर्क गराउन छुट्टै वेभ लिङ्क सञ्चालनमा ल्याएको छ ।
एनवाइइएफ विराटनगर अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सबैजना मानिसहरू त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्तिहरू पनि अन्यौलमा परिरहेको बताए । उनले प्लाज्मा दान गर्न चाहने व्यक्तिहरूले सो वेवसाइटमार्फत आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।
पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिहरूले सम्पर्क गर्न सक्ने र सङ्क्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिहरूको विवरण थाहा पाउन सहज हुने बताए । अध्यक्ष खनालले अस्पतालहरूमा उपचाररत सङ्क्रमितहरुका लागि सामाजिक सञ्जालहरूमा प्लाज्मा आवश्यक भएको सूचनाहरू धेरै आउन थालेकोले प्लाज्मा दिन इच्छुकहरूलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि आग्रह गरे ।
क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जाजुले भनिन्, ‘प्लाज्माका बारेमा सामाजिक सञ्जालहरूमा धेरै सूचना तथा जानकारीहरू देखिरहेका छौँ, प्लाज्मा दान गर्न इच्छुक व्यक्तिहरू अगाडि आइदिनु होला, दानले कसैको ज्यान बच्न सक्दछ ।’
‘यी सबै कुरालाई हेरेर हामीले प्लाज्मा दानकर्ताहरूलाई हाम्रो वेवसाइटमा गएर हेरेर आफ्नो जानकारी तथा विवरणहरू भरिदिन हुन अनुरोध गरेका छौं,’ उनले भनिन् ।