केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् ।
महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो ।
प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालका लागि शुक्रबार सिंहदरबारमा पदबहालीपछि सबै मन्त्री र उच्च कर्मचारीलाई निर्देशन दिँदै कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरेका थिए ।
महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न जनतालाई निराश हुन नदिन र कुनै अनियमितता हुन नदिन उनले सचेत गराउँदै भने, “यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन, कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन, सरकारले कडाइका साथ कारबाही गर्नेछ ।”
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा, ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उनी प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीको निर्देशन सुनेर आफ्ना मन्त्रालयमा बहाली गर्न पुगेका मन्त्रीहरुले कोभिड नियन्त्रणमा ध्यान केन्द्रित गर्ने उद्घोष गरेका हुन् ।