जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता महतो पक्षका २० जना सांसदहरुको बहुमतीय सहमतितमा महतोलाई संसदीय दलको नेतामा बिहीबार चयन गरिएको हो ।
बिहीबार भक्तपुरको डोलेश्वर रिसोर्टमा ठाकुर–महतो पक्षका सांसदहरूको बैठक बसेको थियो । सो बैठकमा महतोलाई संसदीय दलको नेता चयन गर्ने सहमति भएको जसपाले जनाएको छ ।
केहीदिन पहिले जसपा नेपालका अध्यक्ष ठाकुरले सुरु गर्नुभएको हस्ताक्षर अभियानमा महतोलाई संसदीय दलको नेता बनाउने एजेण्डा पनि समावेश थियो । त्यसबेला महतोलाई संसदीय दलको नेता बनाउने विषयमा बहुमत पुगेको थिएन ।
यसका लागि आइतबार संसदीय दलको बैठकमा बोलाइएको छ । साथै आइतबारै संसद सचिवालयमा यस सम्बन्धमा जानकारी गराउने तयारी भएको जसपाले बताएको छ ।
उक्त निर्णयबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई कुनै जानकारी छैन । पार्टीमा संसदीय दलको नेताका लागि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले दावी गर्दै आइरहेका थिए । जसपामा दलको नेता चयनको विषयमा कुरा मिलिरहेको थिएन । जसपा नेपालका कार्यकारिणी सदस्य एवं सांसद रामसहाय यादवले राजेन्द्र महतो संसदीय दलको नेता बनेकोमा पार्टीलाई कुनै जानकारी नरहेको प्रतिकृया दिए । उनले भने– ‘संसदीय दलको बैठक नै बसेको छैन भने उहाँ कसरी संसदीय दलको नेता बन्नुभयो थाहा छैन, उहाँले आफ्नै मनले संसदीय दलको नेता घोषणा गराउनुभएको हो भने हामीलाई त्यसमा केही भन्नु छैन ।’