कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज भएकी छिन् । उनी शुक्रबार अपराह्न ४ बजे डिस्चार्ज भएको नर्भिक अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भइ २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित पूर्वरानी पनि भर्ना भएकी थिइन् । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नै डिस्चार्ज भएका थिए ।
अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आईसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारीको संक्रमण देखिएपछि नर्भिक अस्पताल उपचार भएको थियो ।
पूर्वराजा शाह चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाहसँग तिर्थयात्राको लागि भारत गएका थिए । २ हप्ता भारतको तीर्थयात्रा सकेर नेपाल फर्किएपछि उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।
प्रत्येक १२ वर्षमा एकचोटी लाग्ने महाकुम्भ भेलामा सहभागी भएर वैशाख ५ स्वदेश फर्कदा त्रिभुवन विमानस्थलमा उनलाई हजारौं समर्थकहरुले स्वागत गरेका थिए । स्वागतमा मास्क विना केही बालबालिकाहरुलाई समेत लगिएको भिडिओ समाचार केटिएम दैनिकमा प्रकाशित भएको थियो ।
हेरौं उक्त भिडिओ