
गाउँघरमा जति नै सुबिधाजनक आइसोलेसन खुलेपनि कोरोना सङ्क्रमित शहरका ठूला अस्पताल केन्द्रित हुनेगरेको पाइएको छ । अक्सिजन र विशेषज्ञ डाक्टरसहितको सुबिधाजनक आइसोलेसन खोल्दा पनि सङ्क्रमित कि त शहरको अस्पतालमा वा बेड नपाए होम आइसोलेसनमा बस्ने गरेको पाइएको हो ।
सुनसरीको हरिनगर गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि ५० शैयाको आइसोलेसन सञ्चालन गरेको छ । हरिनगर गाउँपालिकाले छिमेकी गाउँपालिकाद्वय बर्जु र देवानगञ्ज गाउँपालिको सहकार्यमा ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरेको छ ।
हरिनगर–१ भुटाहामा रहेको उक्त आइसोलेसनका ६ बेडमा अक्सिजनको सुविधासमेत छ । अरू दस वडा अक्सिजनसहितको बेड बनाएर सङ्क्रमितलाई उपचार गरिने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले जानकारी दिए । नेपाली सेनाको टोलीलाई आइसोलेसनको सुरक्षाको व्यवस्थाको जिम्मा दिइएको छ । अनि, विशेषज्ञ डाक्टरसहित सात जना चिकित्सकको टोली पनि छ । तर गाउँका सङ्क्रमित भने होम आइसोलेसनमै छन् ।
हाल हरिनगरमा सात सङ्क्रमित होम आइसोलेसमा छन् । उनीहरूलाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको बताउँदै अध्यक्ष मियाँले सर्वसाधारण आइसोलेसनमा आउन नचाहेको गुनासो गरे ।
आम सर्वसाधारणले ठूला अस्पतालको मुख ताकेर र बेड नपाए घरमै उपचार गरिरहेको बताउँदै अध्यक्ष मियाँले घरमै उपचार गराउँदा सङ्क्रमितको ज्यान जान सक्ने जोखिम रहेको बताए । ‘मान्छेहरू कोरोना लागरे घरमै बस्छन् अस्पताल आउनै चाहँदैनन्’, उनले केटिएम दैनिकसँग भने, ‘तर घरमा बस्दा अझ जोखिम हुन्छ ।’
यता, देवानगञ्ज घर भएका एक सङ्क्रमितले अनुभवका हिसाबमा पनि ठूला अस्पताल ठीक हुने भएका कारण विराटनगरमै उपचार गराइरहेको बताए । उनका अनुसार गाउँमा रहेको आइसोलेसन पायक पर्ने भएपनि त्यहाँ उपचार गराउँदा जोखिम हुने बताए । ‘विशेषज्ञ डाक्टर एक जना हुनुहुन्छ, उहाँसँग अनुभव होला तर अरू चिकित्सकले अनुभव सङ्गाल्नु भएको नहुन सक्छ । यसैले म विराटनगरमै उपचार गराइरहेको छु’, उनले भने ।
केही समय अघिदेखि सञ्चालनमा आएको आइसोलेसनमा एक जना एमबिबिएस डाक्टरसहित सात जना चिकित्सकको टोली सङ्क्रमितको उपचार तथा हेरचाहमा खटिरहेका छन् । अघिल्लो लहरका बेला क्वारेन्टाइन बनाइएको स्वास्थ्य चौकीलाई करिब सात लाख खर्च गरेर मर्मत–सम्हार गरी आइसोलेसन बनाएको अध्यक्ष मियाँको भनाइ छ ।
सो आइसोलेसनमा हाल दुई कोरोना सङ्क्रमित उपचाररत छन् । तीन जना भर्ना भएकोमा हरिनगरकै एक सङ्क्रमित निको भएर बिहीबार मात्र घर फर्किएको आइसोलेसन इन्चार्ज राजकुमार मेहताले जानकारी दिए ।
उनका अनुसार एक जना देवानगञ्ज गाउँपालिकाको र अन्य दुई जना हरिनगरको रहेकोमा हरिनगरका एक जना निको भएर डिस्चार्ज भएका छन् ।
होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई स्वास्थ्यकर्मीसँग सम्पर्क गराएर अफ्ठेरो भएको अवस्थामा अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाइएको छ । हालसम्म हरिनगरमा चार जना कोरोना सङ्क्रमित निको भएका छन् भने हालसम्म कसैको मृत्यु भएको छैन ।