सुनसरीको देवानगञ्ज घर भएका एक कोरोना सङ्क्रमितको बिहीबार बाटोमै मृत्यु भएको छ । प्रदेश १ को राजधानी विराटनगरका अस्पतालमा बेड नपाएपछि सुनसरी नै फर्काउनेक्रममा देवानगञ्ज गाउँपालिका–६ घर भएका बाटोमा नै मृत्यु भएको हो ।
३५ वर्षीय उनलाई आजै मात्र कोरोना पुष्टि भएको विराटनगरको गोल्डेन अस्पतालले जनाएको छ । छ–सात दिनदेखि ज्वरो, रुघा–मर्कीले ग्रस्त भएका उनी आजै मात्र परीक्षणका लागि गोल्डेन अस्पताल पुगेको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईले जानकारी दिए ।
उनका अनुसार एन्टिजेन टेस्ट गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पतालले अवस्था गम्भीर रहेको बताउँदै कोभिड अस्पताल लगेर आइसियूमा राख्न सुझाव दिएको थियो । तर बिरामीका आफन्तले सबै अस्पतालमा फोन लगाए । सबैतिर बेड अभाव भएको जानकारी पाएपछि उनीलाई पुनः सुनसरी नै लगिएको थियो ।
सुनसरीको हरिनगर–१ भुटाहामा रहेको आइसोलेसन सेन्टर लैजानेक्रममा चिम्डी पुगेपछि उनको मृत्यु भएको देवानगञ्ज गाउँपालिकाका स्वास्थ्य संयोजक उमेशकुमार मेहताले जानकारी दिए । उनका अनुसार दम र सुगरको बिरामी रहेका उनलाई बुधबार रातिबाट भने सास फेर्नमा कठिनाइ भएको थियो । त्यसपछि मात्र उनी कोरोना परीक्षणका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुगेका थिए ।