प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ ।
चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ता शुरू भएको स्रोतले केटिएम दैनिकलाई बतायो । माधवकुमार नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो । थापा अन्नपूर्ण मिडिया नेटवर्कका मालिक हुन् । यसअगाडी भारतीय च्यानलबाट प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ताको चाँजोपाँझो मिलाउने र भारतबाट आएकालाई सगरमाथा आधार शिविरसम्म पुर्याउने जिम्मा थापाले लिएको खुलेको थियो ।
पछिल्लो समयमा अन्नपूर्ण पोष्ट दैनिकले सरकारको प्रतिरक्षा गर्दै जुनियर गोरखापत्र बन्दै गएको आरोप समेत लाग्ने गरेको छ । रामेश्वर थापाले आउने चुनावमा काभ्रेबाट टिकट लिने र ७० करोड कमिसनको दाग लागेका प्रधानमन्त्रीका प्रिय पात्र गोकुल बाँस्कोटालाई समानुपातिकमा उठाउने चर्चा समेत राजनैतिक वृतमा चल्ने गरेको छ ।
नेपाल पक्षका चार नेतामाथिको कारबाही फिर्तापछि ओली र नेपालबीच वार्ता तय भएको हो । यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो । माधव कुमार नेपाल पक्षका १९ जना सासंदले आज राजीनामा दिएको खण्डमा विपक्षीहरुको बहुमत पुग्नेछ र उनीहरुले नयाँ सरकार गठन गर्ने ढोका खुल्नेछ ।
सम्बन्धित खबर
प्रधामन्त्री पद गुम्ने भएपछि अन्तिम समयमा नेपालसँग भेटवार्ता गर्दै ओली