सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ ।
स्विट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको ज्यान गएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् । अब्दुल वारिचको सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा बसेकै ठाउँमा र पुवे लिउको शिखरतर्फ जाँदै गर्दा सात हजार नौ सय मिटरको उचाइमा ज्यान गएको हो ।
लिउको हिउँका कारण आँखाको ज्योति गुमेपछि ज्यान गएको जानकारी प्राप्त भएको बताइएको छ । हिजोसम्ममा अनुमति लिएका आरोही र उनीहरुका सहयोगी समेत गरी झण्डै १ सय ७० जनाले आरोहण गरेका छन् । आज भने आरोहण भएन । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको थियो । मौसमको प्रतिकुलताको कारण आज भने आरोहण भएको छैन ।
हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ । केही दिनअगाडी सगरमाथा आधार शिविरमा पनि कोरोना सङ्क्रमण फैलिएको समाचार प्रकाशित भएको थियो ।