राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको आह्वान गरेसँगै राजनीति तातिएको छ । मङ्गलवार दिनभर काँग्रेस सभापति शेरबहादुर देउवा सक्रिय रहे । देउवा आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन् । माओवादीमा देउवालाई साथ दिनेमा दुई मत छैन । तर, माओवादीले मात्रै साथ दिँदैमा देउवाको सरकार बन्ने गणित पुग्दैन । त्यसका लागि उनले जसपाको समर्थन लिनुपर्छ ।
जसपामा पनि एउटा पक्ष उनलाई साथ दिन तयार छ । तर, अर्को पक्षलाई मनाउन देउवाले कुरत गरिरहेका छन् । मङ्गलवार बिहानदेखि देउवाले नेताहरूसँग विभिन्न माध्यमबाट कुराकानी गरिरहे । बिहान आफू पक्षका नेताहरू र अन्य शीर्ष नेताहरूसँग छलफल गरेका देउवाले दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठक आफ्नै निवास बुढानीलकण्ठमा राखे । बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्न आवश्यक समर्थन जुटाउने निर्णय गर्यो ।
काँग्रेस सह महामन्त्री डा. प्रकाशशरण महतकाले बैठकले माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहलाई पनि साथमा लिएर सरकार बनाउने विषयमा आवश्यक तयारी गर्ने निर्णय गरेको जानकारी दिए । २७५ सदस्यीय प्रतिनिधि सभामा माओवादीका ४ जनाको स्थान रिक्त भएको छ । काँग्रेसका २ र जसपाका २ सांसद निलम्बित छन् । अहिले प्रतिनिधि सभा २६७ सदस्यीय भएको छ । त्यसमा बहुमत पुर्याउन १३४ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग काँग्रेसका ६१, माओवादीका ४८ (सभामुख बाहेक) र जसपाको उपेन्द्र यादव समूहका १७ जना छन् । यतिले बहुमत पुग्दैन ।
निर्णायक जसपा विभाजित !
सत्ता समीकरणका विषयमा जनता समाजवादी पार्टी कानुनी रूपमा विभाजित त भएको छैन । तर राजनीतिक रूपमा भने विभाजित छ । जुन प्रधानमन्त्रीले विश्वासको मत माग्दा पनि देखियो । एउटा पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्यो भने अर्को पक्ष तटस्थ बसिदियो । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत काँग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुगेका छन् । जसपाकै सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई बिदा गरेर वैकल्पिक सरकार गठनमा खुलेर लागेको छन् । ठाकुरको वक्तव्यअघि काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त पत्र लेखेर संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।
संसदीय व्यवस्थामा गणितीय हिसाबले धेरै अर्थ राख्छ । एक सांसद यताउती हुँदासमेत गठबन्धन बन्ने वा भत्किने हुन्छ । अहिले अङ्क गणितीय राजनीति केन्द्रमा मात्रै होइन प्रदेशमा पनि चलिरहेको छ । कोरोना महामारी पछिल्लो समय भयावह अवस्थामा छ । दैनिक सङ्क्रमण मात्रै होइन मृतक सङ्ख्या पनि लगातार बढिरहेको छ । बिरामीले उपचार पाउन सकेका छैनन् । उपचार नपाएर बाटोमै ज्यान गुमाइरहेका छन् । तर, दलहरू भने सत्तलिप्सामा व्यस्त छन् । लुम्बिनी र गण्डकीमा राजनीतिक खिचातानी चलिरहेको छ । उनीहरूले सरकार जोगाउन र ढलाउन सांसदका टाउका गनिरहेका छन् । केन्द्रमा पनि अवस्था त्यही हो । टाउकै नपुगेर देउवाको प्रधानमन्त्री हुने सम्भावना समेत कम हुँदै गएको छ । यतिखेर राजनीतिमा टाउका गन्ने खेलो उत्कर्षमा पुगेको छ ।
जनता महामारीमा मरिरहेको बेला घृणित यो खेल कहिलेसम्म चल्छ भन्न सकिँदैन । नयाँ सरकार बन्छ या ओली नै पुनः प्रधानमन्त्री हुन्छन् त्यो पनि टुङ्गो छैन । जे होस्, जो सुकै होस् । उपचार नपाएर मरिरहेका जनताका पक्षमा कसले सोच्ने ? कसले व्यवस्था गर्ने । जबकि यहाँ त सरकारविहीनताको अवस्था छ ।