कोरोना भाइरस सङ्क्रमणका कारण प्रदेश नं १ आक्रान्त बन्दै जानुमा सीमा क्षेत्रबाट हुने आवत–जावतलाई प्रमुखताका साथ हेरिएको छ । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास सीमानाकामा हुने आवत–जावतले कोरोना सङ्क्रमितको सङ्ख्यामा प्रभाव पार्ने बताउँछन् ।
प्रदेश १ सरकारले भारतसँगको सीमानाकामा सुरक्षाकर्मीलाई खटाएर सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सिमानाको आवत–जावत रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । तर सीमा क्षेत्रमा विशेष निगरानी बढाउन खटिएका सुरक्षाकर्मी भने त्रिपालको भरमा बस्न बाध्य भएका छन् । सङ्क्रमणको उच्च जोखिममा रहेर सुरक्षामा खटिएका सीमानाकामा प्रहरीहरूका लागि उचित बस्ने ठाउँ नभएका कारण समस्या परेको छ ।
सुरक्षाकर्मीहरू पानी परेको समयमा भिज्दै नाकाको सुरक्षा गर्न बाध्य भएका छन् । सशस्त्रको चार बिओपी पोष्टमा ५० जना सुरक्षाकर्मी खटिने गरेका छन् । यस्तै नेपाल प्रहरी पनि सीमानाकामा खटिएको छ । तर कहिलेकाँही पानीसँगै आउने हावाहुरीले त्रिपालसमेत उडाएर लग्दा समस्या हुनेगरेको एक सुरक्षकर्मीले बताए ।
सीमामा खटिएका सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामै स्वास्थ्य जाँच गरेर मात्रै आउन दिने गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय र विरानगर महानगरको समन्वयमा खटिएका स्वास्थ्यकर्मीले नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण गरेर पठाउने गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काका अनुसार एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई भने आइसोलेसनमा पठाउने गरिएको छ ।
सीमानाकाबाट हुने आवत–जावत घट्यो
जोगबनी नाका भएर छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्नेको सङ्ख्या घटेको छ । भारतमा पनि लकडाउन जारी भएपछि जोगबनी नाका भएर नेपाल आउनेको सङ्ख्या सीमामा खटिएका सशस्त्र प्रहरीले जानकारी दिएका छन् ।
एक साता अघिसम्म दैनिक एक सयको सङ्ख्यामा जोगबनी नाका भएर भारतबाट नेपाल आउने गर्दथे । तर भारतमा लकडाउन भएसँगै एक सातायता उक्त नाका हुँदै नेपाल आउनेको सङ्ख्या घटेर दैनिक १० जनाको हाराहारीमा झरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।