विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको चपेटमा अरू देशजस्तै नेपाल पनि परिरहेको छ । २०७६ सालको अन्त्यतिर कोरोना त्यति धेरै नफैलिए पनि यसको त्रासले भने नेपाली जनजीवनमा निकै असर पारिसकेको थियो । हरेक मानिसको मुखमा कोरोना भन्ने शब्दले ठाउँ बनाइसकेको अवस्था थियो । त्यतिबेलै मेरो मनमा पनि एउटा डर पसिसकेको अवस्था थियो । घरि–घरि म पनि कोरोनाबाट देश प्रभावित बन्न सक्ने आँकलन गर्थेँ यसैले पनि एउटा स्वास्थ्यकर्मी भएरै पनि कोरोना भन्नेबित्तिकै झसक्क झस्किन्थेँ ।
सङ्क्रमित देखिन सुरु भएसँगै सरकारले रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन ग¥यो । त्रास झनै फैलिसकेको थियो । दिनदिनै अस्पताल गएर फर्किनु परेकाले छरछिमेकले मप्रति हेर्ने नजर बदलिसकेका थिए । कसैकसैले त अब उतै बस्नुपर्ने सल्लाह पनि दिएका थिए । हुन पनि म आफैँ पनि स्वाब सङ्कलनमा खटिएको थिएँ । स्वाब सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाउनु मेरो दैनिक कार्य भइसकेको थियो ।
यसले म आफूलाई कोरोनाको डर त छँदै थियो । अझ, गाउँमा छर–छिमेकले पनि मप्रति देखाएको व्यवहारले म आजित बनेको थिएँ । मबाट टाढिने, कुरा गर्न पनि डराउने र गाउँ–घर नपसेर अस्पतालमै बस्नु छिमेकीले दिएको सुझावले ममा मानसिक रूपमा निकै प्रभाव परेको थियो । अनि घरपरिवारले पनि स्वास्थ्यकर्मीको जागिर छोड्न उत्तिकै दबाब दिइरहनु भएको थियो । उहाँहरूलाई सन्तानको स्वास्थ्यको चिन्ताले जागिर छोड्न दबाब दिनु स्वभाविक नै थियो । र, यसलाई मैले पनि सामान्य रूपमै लिएको थिएँ ।
०००००
तरपनि सबैको कुरा सुने–नसुनेझैँ गरेर मनमा त्रास लिँदै अस्पताल जाने–आउने क्रम जारी राखेँ । २०७६ चैत अन्त्यतिर नेपाल सरकारले भर्खर चीनबाट ल्याइएको कोरोना जाँच्नको लागि आरडिटी माध्यमबाट किट ल्याइसकेको थियो । आरडिटीको माध्यमबाट कोरोना जाँच्नको लागि प्रदेश सरकारले पाँचथरको लागि पठाउने निर्णय गरेछ ।
नवीन खड्का सरले मलाई बिहानै ओछ्यानमा भएको बेला फोन गरेर आरडिटीको माध्यमबाट कोरोना जाँच्नको लागि तयार रहनू भन्ने निर्देशन दिनुभयो । १० बजे जानुपर्छ तयार भएर बस्नु भनेपछि ममा डरको सीमा रहेन । स्वास्थ्यको चिन्ता लिएर जागिर छोड्न दबाब दिने आमा–बुबालाई यो कुरा सुनाउने हिम्मत मसँग थिएन । त्यै पनि डरैडरमा आफू पाँचथर जाने जानकारी आमा–बुबालाई दिएँ । म आफैँ पनि डराएको थिएँ । अभिभावकमा अझ डर देखिनु त स्वभाभिक नै थियो ।
हाम्रो यात्रा पथरीशनिश्चरेबाट पाँचथरको राँकेतिर लम्कियो । राँकेसँम्म नवीन सर म एकसाथ थियौँ । तर हामी दुवैजनाको गन्तब्य फरक थियो । हामी दुवैले फरक–फरक ठाउँ जानुपर्ने भएपछि म अझ आत्तिएँ । त्रास बोकेरै हिँडेको मान्छे म एक्लै परेपछि सास नै रोकिएलाझैँ गरी डराएँ ।
पहिलोपटक कोरोना जाँच्नुपर्ने त्यो पनि विदेशबाट आएर क्वारेन्टाइनमा बसेको मान्छेको । हात–खुट्टा काप्न थालिसकेका थिए । डरले मुटुको धड्कन बढेर मुटुनै बाहिर निस्केलाजस्तो भइसकेको थियो । त्यहीपनि परीक्षण गर्न सुरु गरेँ । त्यहाँ सकेर फेरि अरु ४–५ ठाउँ जानुपर्ने थियो परीक्षणको लागि । त्यहाँ परीक्षण गरिसकेपछि सबै रिपोर्ट नेगेटिभ आयो । त्यसपछि मनमा भने एकप्रकार ढुक्कपन भइसकेको थियो । अनि, अर्को एक ठाउँमा परीक्षण गरिसक्दा त मनमा रहेका डर–त्रास सबै भागिसकेको अवस्था थियो । अब त परीक्षण गर्न अर्कै किसिमको रमाइलो भइरहेको थियो ।
०००००
पाँचथरको २–३ दिनको बसाईपछि घरतिर आएँ । घरमा आउँदा छरछिमेकमा सबैतिर हल्ला फैलिसकेको थियो, सुरजले कोरोना जाँचेर आएको भनेर । उनीहरूको मलाई हेर्ने नजर त फरक भइसकेको नै थियो, व्यवहारमा पनि परिवर्तन भइसकेको थियो । पुनः अस्पतालमा रहेर परीक्षण गर्ने क्रममा पोजेटिभ केसहरू पनि आउन थाले । त्यसपछि भने म अस्पतालतिरै बस्न थालेँ । परिवारमा त त्रास बाँकी थियो नै त्यसैबीच कोरोनाले दुई जना फूपाजुहरू गुमाउनुको पीडाले परिवारमा झन् त्रास फैलियो । केराबारी घरमा भए फुपाजुद्वयको छ दिनको अन्तरमा कोरोना सङ्क्रमणका कारण निधन भएको थियो ।
समय बितेसँगै कोरोनाको त्रास नेपालमा समान्य अवस्थामा आइसकेको अवस्था थियो । सबैजना सामान्य जीवनयापनतिर फर्किएका थिए । बजारमा पनि स्वास्थ्य मापदण्ड पालना गर्नेको सङ्ख्या घटिसकेको थियो । त्यसबेला गाउँ–घर, बजारतिर मानिसको चहलपहल बढ्यो । कोरोना पनि थियो र ? भन्ने भाव सबैमा आएको थियो होला । मलाई पनि यस्तो महसुस नभएको होइन ।
तर, अवस्था पुनः बिग्रँदै गयो । दोस्रो लहरको कोरोना महामारी सुरु भयो । जस्लाई युके भेरियन्ट पनि भन्ने गरिन्छ । छिमेकी देश भारतसँगसँगै नेपालमा पनि यो डलब म्युटेसनको भेरियन्ट भित्रियो । यसले नेपाललाई फेरि पनि अस्तब्यस्त बनाइरहेको छ । पहिलो लहरको कोरोनाभन्दा खतरा मानिएको यस भेरियन्टले सङ्क्रमण दर र मृत्युदर पनि दिनैपिच्छे बढाइरहेको छ । पहिलेको भन्दा त्रास पनि बढिरहेको छ ।
आफैँले पहिलेको जस्तो धेरै परीक्षण गर्न नपाए पनि गरिएका प्रायःजसो सबै पोजिटिभ आएर होला पहिलेको भन्दा डर बढिरहेको छ । सामान्य रुघाखोकी लाग्दासमेत मन बेचैन हुन्छ । आफैँमा पनि माक्स र सेनिटाइजरको मात्रा बढाइरहेको छु । घरमा स–साना केटाकेटी छन् उनीहरूसग टाढिएर बस्न बाध्य छु । म स्वास्थ्यकर्मी हुँ । तर म आफैँ पनि दास्रो लहरको कोभिडबाट डराएको छु ।
०००००
यसैले यो लेखमार्फत म सबैलाई अनुरोध गर्छु कि कोरोनालाई खेलाँचीको रूपमा नहेरौँ । यो एउटा एटमबम हो सुरक्षित भएर बसिएन भने यस्ले ध्वस्त बनाउँछ । यसलाई लिन नजाउन्जेल यो घरभित्र आउँदैन । त्यसैले घरमै बसौँ सुरक्षित बसौँ । कोरोना बिरामीलाई घृणाले होइन मायाले हेरौँ । सँगसँगै स्वास्थ्यकर्मीलाई पनि सम्मान दिऔँ ।
(मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको ल्याबमा कार्यरत स्वास्थ्यकर्मी सुरज गौतमसँग केटिएम दैनिकले गरेको कुराकानीमा आधारित)