मङ्गलबार खोटाङको चिसापानीस्थित घोर्ले भन्ने स्थानमा अटो टेम्पो दुर्घटना भयो । खोटाङ जन्तेढुङ्गा गाउपालिका-५ घोर्लेस्थित तारेभिरबाट अटो टेम्पु खसेको थियो । मङ्गलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा टेम्पु चालक जेन्तेढुङ्गा-४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुङ्गा ५ का १६ वर्षीय मणिराम राई, सोही स्थानका १२ वर्षीय गोकुल परियार र ६५ वर्षीय रत्नबहादुर राई घाइते भएका थिए ।
घाइतेमध्ये मणिराम राईको अवस्था सामान्य रहेकोका कारण स्थानीय स्वास्थ्य केन्द्रमानै उपचाररत छन् । भने, बाँकीलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले धरानस्थित बिपी प्रतिष्ठानतर्फ पठाएको थियो ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाकै एक एम्बुलेन्सले घाइतेहरूलाई ल्याउँदै थियो । तर बीच बाटोमै बालक गोकुल परियारको मृत्यु भयो । त्यसपछि एम्बुलेन्स चालक हिमाल शाक्यले बराहक्षेत्रको चतराघाटस्थित सडकमा साँझको बेला गोकुलको शव छोडेर हिँडे । साँझका बेला परियारको शव छोडर एम्बुलेन्स हिँडेपछि मृतकका दाजु बमबहादुर परियार रुँघेर बसेका थिए ।
त्यसपछि त्यहाँ स्थानीयको भीड लाग्यो । शव रुँघेर बसेका दाजु बमबहादुर निरीह थिए । उनी डाको छोडेर रोइरहेका थिए । मृत शरीरमात्र देखेपछि स्थानीय श्याम श्रेष्ठले तन्ना दिएर शव छोप्न लगाए । शवको छेवैमा रुन्चे भएर बसेका दाजुलाई स्थानीयले सोधे । र प्रहरीलाई खबर गरिदिए । त्यसको दस मिनेटपछि पुगेको प्रहरीले सोधखोज गरेर एम्बुलेन्सलाई तुरुन्तै बोलाए ।
बमबहादुरले बाटोमै भाइको निधन भएपछि लिएर आएको एम्बुलेन्सले दुवैलाई अलपत्र पारेर छोडेर हिँडेको बताए । एम्बुलेन्स आधा घण्टापछि फर्किएर आइपुग्यो । इलाका प्रहरी कार्यालय चतराका सई अमरकुमार लावतीका अनुसार शव छोडेर जीवनलाई उपचारका लागि घोपा पुर्याउन एम्बुलेन्स गएको रहेछ ।
तर अमानवीयताको चरम रूप देखेर सई लावतीले शव पनि घोपा लैजान निर्देशन दिए । चालकले शव र मृतकका दाजुलाई घोपातर्फ पठाइदिएको सई लावतीले जानकारी दिए । उनले केटिएम दैनिकसँग भने, ‘घटनामा गम्भीर घाइते राईको ज्यान बचाउन उनलाई जतिसक्दो छिटो अस्पताल पुर्याउनु धेरै राम्रो कुरा हो । तर एउटालाई बचाउने प्रयास गर्दा मृत शरीरलाई त्यसरी छोड्नु मृतकको अपमान मात्र नभएर चालकको चरम लापरवाही हो ।’