
कोरोना महामारीको दोस्रो लहरलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले ‘तपाईँको मास्क खोई ?’ अभियान चलाइरहेको छ । कोरोना रोकथामका लागि सुचारु गरिएको उक्त अभियानका क्रममा प्रहरीमाथि नै हातपात भएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–९ मा मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोकेर तपाईँको मास्क खोई भन्ने प्रश्न तेर्स्याएको थियो । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोई ?’ भनेर प्रश्न गरेका थिए । तर मास्क नलगाएका उनीहरू प्रहरीमाथि नै जाइलागेका थिए ।
उनीहरूले अपशब्द बोल्दै प्रहरीमाथि हातपात गरी कपडा पनि च्यातिदिएका छन् । त्यसपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । एक जना भने फरार रहेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँ रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि कोरोना रोकथामका लागि ड्युटीमा खटिएका प्रहरीलाई अभद्र ब्यवहारको मद्दा तथा सङ्क्रामक रोग ऐन २०२० को मुद्दामा म्याद थप गरिएको एसपी थापाले बताए ।